हेटौंडाः हेटौंडा–५ स्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत महोत्सव समापन गरिएको छ । सहकारीको २५ औं स्थापना दिवस तथा रजत महोत्सवका अवसरमा विविध कार्यक्रम गरिएको हो ।
रजत महोत्सवको समापन कार्यक्रम शुक्रबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष जानकी चौधरीको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा संस्थाको स्मारिका बिमोचन गरिएको छ ।
कार्यक्रममा एसईईमा सामुदायिक बिद्यालयबाट ४ जीपीए ल्याउने बालज्योति माविकी अस्मिता घिमिरेलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । संस्थाका जेष्ठ सदस्यहरु दीपबहादुर बिष्ट र वेदमाया खतिवडालाई सम्मान गरिएको छ ।
संस्थाको स्थापना कालदेखि नै विभिन्न पदहरुमा रही निरन्तररुपमा सेवा दिने संस्थाका अध्यक्ष जानकी चौधरी, कोषाध्यक्ष शशिकर पाण्डे, संस्थापक अध्यक्ष पूर्णबहादुर खनाल तथा स्वर्गीय रणबहादुर कार्की, व्यवस्थापक प्रकाशबहादुर खनाल, भावना रायमाझीलाई सम्मान गरिएको छ । सो अवसरमा स्लो स्कुटी दौडमा प्रथम हुन सफल सचिता पौडेल तथा सान्त्वना हुन सफल रिमा थापा र नानीमाया गुरुङलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहकानगरपालिकाको ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, जिल्ला बचत संघका उपाध्यक्ष मिना चौरेललगायतको सहभागिता थियो ।
रजत महोत्सवको अवसरमा सहकारीले साउन ४ गतेदेखि सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेको थियो । पहिलो दिन संस्थाले चुच्चेखोलास्थित श्रीमद्भागवत वृद्धाश्रममा खाद्यान्न वितरण गरेको थियो । संस्थाले मामाघर नेपालका बालबालिकाहरुलाई स्टेशनरी सामग्री प्रदान गरेको थियो । यस्तै, वृक्षरोपण कार्यक्रम, महिला स्लो स्कुटर रेस प्रतियोगिता, संस्थाका १ सय ५० जना सदस्यहरुको मधुमेह तथा रक्तचापलगायतका सामान्य स्वास्थ्य चेकजाँच गरिएको छ ।
२०५८ साल साउन ९ गते स्थापित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थामा हाल हेटौंडा उपमहानगरपालिकाका ३ हजार ५ सय ६६ जना शेयर सदस्यहरु रहेका छन् । महिला २ हजार २ सय र पुरुष १ हजार ३ सय १६ सदस्य रहेका छन् ।











