हेटौँडा : रोटरी क्लब अफ हेटौँडाले हेटौँडा–८, कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण गरेको छ । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको उपस्थितिमा शनिबार बिहान रोटरी क्लबले आँप, लिच्ची, कटहर, एभोक्याडो, कागती, चिउरी, जामुन, निम, तेजपात गरी १० प्रजाति २ सय वटा बिरुवा रोपेका छन् ।
विद्यालय परिसरमा संरक्षणसमेत हुने गरी वृक्षरोपण गरिएको रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो । रोटरी क्लबले शनिबार देशभर ५० हजार वृक्षरोपण गर्ने योजना रहेको अध्यक्ष प्रधानले बताउनुभयो । वृक्षरोपण कार्यक्रममा वडाध्यक्ष रामकृष्ण थापा, विद्यालयका प्रधानाध्यापक जीधराज ढकाल, रोटरी क्लबका पदाधिकारी, रोट्र्याक्ट क्लबका पदाधिकार िसहभागी थिए ।
शुक्रबार पनि रोटरी क्लबले मकवानपुरको मनहरी गाउँपालिका–३ र ४ मा १ सय बिरुवा रोपेको अध्यक्ष प्रधानले बताउनुभयो । वृक्षरोपणसँगै रोपिएका बिरुवाको नियमित संरक्षण, स्याहार गरी बिरुवालाई वयस्क बनाउनेसम्म रोटरीले ध्यान दिने दावी गरिएको छ ।











