हेटौँडा : बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले विद्यालयस्तरमा अनिवार्य रुपमा पूर्वव्यावसायिक शिक्षा तथा नैतिक शिक्षा विषय समावेश गर्नुपर्ने बताउनुभएको छ । सोमबार हेटौँडा–६ स्थित बंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को १९ औं अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री खड्गीले दुइ विषयको अनिवार्यताबारे महत्व जनाउनुभएको हो ।
उहाँले वर्तमान समयमा नेपाली समाजमा बालबालिकाहरुलाई नैतिकता बारे ज्ञान नदिँदा विभिन्न सामाजिक तथा व्यावहारिक जीवनमा समस्या परिरहेको र व्यावसायिक शिक्षाको व्यवस्था नहुँदा दैनिक जीवनमा आइपर्ने काम तथा आधारभूत सीपहरु बालबालिकामा सानैबाट विकास हुन नसकेको बताउनुभयो । यसको नीतिगत सुरुवातका लागि आफ्नो मन्त्रालय लागिरहेको पनि उहाँले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा १७ वर्ष प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरी विद्यालय सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सेवानिवृत्त शिक्षक रमेशप्रसाद लामिछानेलाई सम्मान गरिएको छ ।
अभिभावक भेलाको अवसरमा गत शैक्षिक सत्रमा कक्षागत प्रथम, द्वितीय तथा तृतीय भएका विद्यार्थीलाई पुरस्कार वितरण पनि गरिएको थियो । अभिभावक भेलामा विद्यार्थीले नृत्य कला प्रदर्शन गरेका थिए । कार्यक्रममा वडाध्यक्ष विष्णु बहादुर दाहाल, शिक्षा विकास महाशाखाका अधिकृत हरिचन्द्र सापकोटा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गुरुप्रसाद सापकोटाको आतिथ्य रहेको थियो ।
सेवानिवृत्त शिक्षक रमेशप्रसाद लामिछानेलाई सम्मान गरिँदै ।











