हेटौँडा : रोटरी क्लब अफ हेटौँडा र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा क्लबका अधिकारीहरुका लागि सिकाई सम्मेलन सम्पन्न भएको छ । प्रशिक्षकसहित ४० जनाको सहभागी रहेको सम्मेलन रोटरी क्लब अफ हेटौंडाको पहलमा पहिलो पटक आयोजना गरिएको हो ।
क्लबका नयाँ कार्यसमिति तथा पदाधिकारीहरूलाई प्रभावकारी नेतृत्व, क्लब सञ्चालन र रोटरीका विविध पक्षहरूबारे जानकारी दिने उद्देश्यले शनिबार एकदिवसीय सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा रोटरी डिष्ट्रिक्ट ३२९२ का अनुभवी प्रशिक्षकहरू ले प्रशिक्षण दिएका थिए । डिष्ट्रिक्ट ३२९२ का लघुवित्त कार्यक्रमका संयोजक धिरज कुमार कार्कीबाट क्लबले संचालन गरेको लघुवित्त कार्यक्रमको पृष्ठभूमिबारे जानकारी गराउनुहुँदै संचालनमा कसरी सहयोग गर्न सकिन्छ भन्ने जानकारी गराउनु भएको थियो ।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष विजय कुमार श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको र रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष प्रमेश प्रधानले कार्यक्रममा सहभागी सबै पदाधिकारीहरूलाई आगामी कार्यकालमा उत्तरदायी र सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो । उहाँले यस किसिमको सम्मेलनले पदाधिकारीहरूमा आत्मविश्वास र योजना बनाउने क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । क्लबका सचिव रामबहादुर थापाले संचालन गर्नु भएको कार्यक्रममा डिष्ट्रिक्ट ३२९२, जोन ३५ का एम्बासडर अफ गभर्नर हरि कुमार श्रेष्ठ, जोन ३४ का एम्बासडर अफ गभर्नर धन बहादुर श्रेष्ठ र दुवै रोटरी क्लबका एभेन्युज चेयरहरु लगायत बोर्डका सम्पूर्ण पदाधिकारी र सदस्यज्यूको सहभागिता रहेको थियो ।











