हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । शुक्रबार र शनिबार दुई दिनमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको आइतबार साँझ मकवानपुर प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट प्रहरीले ६ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको जनाएको छ ।
लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट समेत संयुक्त रुपमा खटिएको प्रहरी टोलीले हेटौँडा–१ का २० वर्षीय सतिस लामा, हेटौँडा–५, सानोपोखराका २० वर्षीय सन्जिव लामा, भिमफेदी गाउँपालिका–२, कालिकाटार बस्ने १९ वर्षीया सन्ध्या पाख्रिन, मकवानपुरगढी गाउँपालिका–२, बाँसपानीकी १९ वर्षीया सन्ध्या घलानको साथबाट लागूऔषध खैरो हेरोइन २ ग्राम २१० मिलिग्राम बरामद गरेको जनाइएको छ ।
यस्तै हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट ना ३७ प ६४४९ नम्बरको मोटरसाइकल चालक पर्सा जिल्लाको पोखरिया नगरपालिका–१, बनकटवाका २७ वर्षीय अकलेश महतो कुशहवाको साथबाट २ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । यस्तै सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–६ घर भई हाल हेटौँडा–९, लामसुरे बस्ने ३६ वर्षीय शैलेन्द्र चौधरी र सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, बनैनिया घर भई हाल जिल्ला हेटौँडा–१० बस्ने ३६ वर्षीय अजय सिंहको साथबाट १ ग्राम २८० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । हेटौँडा–१५ भोर्लेका ३० वर्षीय उमेश मोक्तानको साथबाट ५१० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सबैलाई लागूऔषधसम्बन्धी मुद्दामा कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।










