हेटौँडा : हेटौँडा–५ स्थित संजीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत साताव्यापी कार्यक्रमबारे जानकारी गराइएको छ ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतबार गैरीगाउँस्थित वृद्धाश्रमलाई १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिनेछ । सोमबार मामाघर नेपालमा १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिने सहकारीकी अध्यक्ष जानकी चौधरीले जानकारी दिनुभएको छ । मंगलबार हेटौँडा–५ स्थित रुद्रेश्वर महादेव मन्दिर परिसर र पिप्ले क्षेत्र वरिपरि वृक्षरोपण गरिनेछ । बुधबार सहकारीका सेयर सदस्यहरूसहित समुदायका नागरिकहरूका लागि स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ । बिहीबार स्लो महिला स्कुटर प्रतियोगिता आयोजना गरिनेछ भने शुक्रबार वार्षिकोत्सव समारोहको आयोजना गरिनेछ । वार्षिकोत्सव समारोहमा २०८१ सालको एसईईमा ४ जीपीए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीलाई ५ हजार नगदसहित सम्मान गरिनेछ । रजत महोत्सवको अवसरमा सहकारीले प्रकाशन गरेको स्मारिका शुक्रबार नै विमोचन गरिने अध्यक्ष चौधरीले बताउनुभएको छ ।
सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर पूँजी ३ करोड ६० लाख ७९ हजार रुपैयाँ रहेको छ । जगेडा कोष २ करोड ८९ लाख २५ हजार रुपैयाँ रहेको सहकारीको विभिन्न कोषहरूको जम्मा रकम १ करोड ९ लाख २५ हजार रुपैयाँ रहेको छ । बचत संकलन ३७ करोड १७ लाख ४ हजार रुपैयाँ रहेको सहकारीको संस्थागत पूँजी ३ करोड १७ लाख ८८ हजार रुपैयाँ रहेको छ । सहकारीले ३३ करोड १६ लाख ४६ हजार रुपैयाँ ऋण लगानी गरेको छ । संस्थामा हाल ३ हजार ५ सय ६६ जना सेयर सदस्य रहेका छन् ।
