हेटौँडा : साहित्य संगम मकवानपुरको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा आइतबार जिल्लास्तरीय माध्यमिक तहको कविता प्रतियोगिता सम्पन्न भएको छ । हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा हेटौँडा–११ स्थित हेटौँडा एकेडेमीका रोज कार्की प्रथम हुनुभएको छ । हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलका आशिका न्यौपाने द्वितीय, हेटौँडा–१ स्थित अमर माविकी रोशिका भट्टराई तृतीय, हेटौँडा–१८ स्थित गोरक्षनाथ माविकी इन्दिरा विश्वकर्मा सान्त्वना हुनुभएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँ नगदसहित प्रमाणपत्र र पुस्तक उपहार पाएका छन् । आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरी सुरु भएको कार्यक्रममा भानुभक्त आचार्य बारे परिचर्चा, प्रतियोगितात्मक रचनावाचन, शुभकामना मन्तव्य, साहित्य सर्जकहरूका रचनावाचन आदि गरिएको थियो । भानुभक्त प्रतिष्ठान बागमती प्रदेशका संयोजक हयग्रिव आचार्यको प्रमुख आतिथ्य तथा साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा कार्यक्रम आयोजना भएको हो ।
हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक तथा १६ नम्बर वडाका वडाध्यक्ष रामकृष्ण कोइरालाको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा वाचनका लागि छनोट भएका १३ कविहरूको कविता वाचन गरिएको थियो । कार्यक्रममा भानु जयन्ती समारोह व्यवस्थापन गर्ने विद्यालय तथा सम्बद्ध व्यक्तिहरू, पुरस्कारदाता लगायतलाई सम्मान गरिएको थियो । जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको व्यवस्थापनमा आयोजित कार्यक्रममा विभिन्न साहित्यकारहरू, जनप्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति, शिक्षकहरू, जनप्रिय रिडर्स क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो ।
जनप्रिय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटी, प्रधानाध्यापक भूपेन्द्र चौलागाईं, विव्यस सदस्यहरू, मूर्तिकार ओमभक्त भण्डारी, साहित्यकारहरू माधव पोखरेल, विश्वनाथ सञ्जेल, सञ्जित गोपाली, राजकुमार लामिछाने, सुवास सजल, राजुराम राउत लगायतको आतिथ्य रहेको थियो ।
