हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–३ स्थित विपन्न र जोखिममा परेका बालबालिकाका लागि सञ्चालित भनिएको एक बालगृहमा बस्दै आएकी किशोरीलाई पटक–पटक बलात्कार गरेको अभियोग लागेका सोही बालगृहका अधिकृत ४८ वर्षीय मधुसुदन राउत पक्राउ परेका छन् । असार ८ गते पीडित किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउत विरुद्ध जाहेरी दर्ता गरे पनि राउत पक्राउ परेका थिएनन् ।
शुक्रबार समृद्ध समाज दैनिकमा समाचार प्रकाशन भएपछि राउतलाई पक्राउ गर्न प्रहरीलाई दबाव बढेको थियो । प्रहरीले राउतलाई काठमाडौंको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरी कार्यालयमा दर्ता भएको जाहेरीका आधारमा राउतलाई शुक्रबार काठमाडौंमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको र आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाइने नायव उपरीक्षक अर्यालले जानकारी दिनुभयो ।
१७ वर्षीया किशोरी चार वर्षदेखि सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको होस्टेलमा बस्दै आएकी थिईन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् । मामाघरको हजुरआमासँग बसिरहेकी उनी कमजोर आर्थिक अवस्थाका कारण बालबालिका संरक्षणका लागि खोलिएको भनिएको होस्टेलमा थिइन् । हाल त्यहाँ उनीसहित १५ जना बालिकाहरू छन् । तर, गत जेठ १ गतेदेखि ८ गतेसम्मकै अवधिमा होस्टेल प्रमुख मधुसुदन राउतले आफूलाई पटक–पटक बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।
