हेटौंडा : सुरक्षित वैदेशिक रोजगारीको खोजीमा रहेका २३ जना युवा ठगीमा परेको गुनासो लिएर परामर्शका लागि शुक्रबार आप्रवासी स्रोत केन्द्र (सामी), हेटौंडा पुगेका छन् । उनीहरुमध्ये दुई जना वैदेशिक रोजगारीबाट फर्किएका हुन् भने बाँकी २१ जना विदेश जानुअघि नै ठगिएको गुनासो गर्दै सामीमा पुगेका हुन् ।

गुनासो लिएर आएका पीडितहरूमा बारा जिल्लाका एक जना, सर्लाहीका तीन जना र मकवानपुरका १९ जना रहेका छन् । उनीहरूको उमेर २५ देखि ३० वर्षसम्मको रहेको जनाइएको छ । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने आश्वासन दिएर सिराहाका एकजना चिनेजानेको व्यक्तिले ठगेको उनीहरूको भनाइ रहेको छ ।

सुरक्षित वैदेशिक रोजगारीका लागि काम गर्दै आएको सामीले यस्ता ठगीका घटनामा परेका व्यक्तिहरूलाई निःशुल्क परामर्श, आवश्यक जानकारी तथा कानुनी सहायता प्रदान गर्दै आएको छ । सामीकी सूचना तथा परामर्शकर्ता पार्वती विश्वकर्माले भन्नुभयो– ‘हामीले परामर्श, सूचना, कानुनी सहायता, क्षतिपूर्ति प्राप्तिको प्रक्रिया, सीप तालिमका लागि सिफारिसजस्ता सेवाहरू निःशुल्क दिइरहेका छौं । तर, परामर्श लिन आउनेभन्दा ठगीको शिकार भएर गुनासो गर्न आउनेको संख्या दिनप्रतिदिन बढ्दो छ ।’ उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा जानुअघि आप्रवासी स्रोत केन्द्रबाट आवश्यक परामर्श लिनु अत्यन्तै महत्वपूर्ण हुन्छ । यसले हुनसक्ने ठगीको जोखिमबाट जोगिन मद्दत गर्छ ।’

सामीले वैदेशिक रोजगारमा जान चाहनेहरूलाई अग्रीम जानकारी, आवश्यक कागजात, भरोसायोग्य वैदेशिक रोजगार संस्था र सरकारले तोकेको प्रक्रिया पालना गर्नसमेत सुझाव दिँदै आएको छ । २३ जनाको समूहले वैदेशिक रोजगारमा ठगिएको पैसा प्राप्त गर्नको लागि कानुनी प्रक्रिया अपनाइरहेका विश्वकर्माको भनाइ छ ।