हेटौंडा : यातायात ब्यवसायी बचत तथा ऋण सहकारी संस्थाले यातायातकर्मीको बीमा गर्ने भएको छ । सहकारीले सवारी साधनका चालक तथा सहचालक र सञ्चालकहरुको दुर्घटना बीमा गर्ने भएको हो ।
सहकारी संस्थाका अध्यक्ष गुणराज घिमिरेले सवारी साधनको चालक र सहचालकको ५ लाख रुपैयाँको बीमा गर्ने तयारी गरेको जानकारी दिनुभयो । सञ्चालकको भने १० लाख रुपैयाँको दुर्घटना बीमा गरिने उहाँले बताउनुभयो ।
यातायात व्यवसायी र यातायातकर्मीको आर्थिक कारोबार र आयआर्जनमा सहयोग गर्ने उद्देश्यले सहकारी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । सहकारीको शेयर पुँजी करिब ७५ लाख रुपैयाँ रहेको छ । सहकारीको शेयर पुँजी बृद्धि गर्ने योजना रहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।
सहकारीले आफ्ना शेयर सदस्यहरुको सुबिधाका लागि नारायणी यातायात ब्यवसायी संघको कार्यालय अगाडि पारिजातपथमा कार्यालय स्थानान्तण गरेको छ । सहकारीले यातायात क्षेत्रमा क्रियाशील हजारौं चालक, सहचालक र सञ्चालकको बचत संकलन गर्दै आएको छ ।
सहकारीलाई साना तथा मझौला सवारी चालक, सहचालकहरुको हित हुनेगरी सञ्चालन गर्ने योजना रहेको अध्यक्ष घिमिरेको भनाइ छ । सहकारीले आगामी साधारणसभाबाट केही नीतिगत निर्णय गरी प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
