Home मुख्य समाचार बजार अनुमगनलाई तिब्रता दिइने

बजार अनुमगनलाई तिब्रता दिइने

हेटौंडा : उपभोक्ताको स्वास्थ्य र अधिकारको संरक्षण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार अनुगमनलाई तीव्र पार्दै आएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ लगायतका प्रचलित कानुनअनुसार प्रशासन कार्यालयले २०८२ बैशाखमा नियमित बजार अनुगमन गर्नका लागि ६ वटा विषयगत समिति गठन गरेको छ ।

हरेक हप्ता कम्तीमा एकपटक बजार अनुगमन गर्ने लक्ष्यसहित सुरु गरिएको यस अभियानमार्फत् उपभोक्तालाई ठगीबाट जोगाउने र अखाद्य तथा गुणस्तरहीन सामग्रीको बिक्री वितरणमा रोक लगाउने प्रयास भइरहेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार समितिले चरणबद्धरूपमा बजार अनुगमन गर्दै आएको छ ।

अनुगमनको क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका सामग्री बिक्री गर्ने र सरसफाइमा लापरबाही देखाउने विभिन्न व्यावसायिक संस्थाहरूलाई जरिवाना तथा कारबाही गरिएको छ ।

अनुगमनको क्रममा हेटौंडा–१ स्थित भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रिएका उपभोग्य सामग्रीहरू बिक्री भइरहेको पाइएको थियो । उक्त सुपर मार्केटलाई प्रशासनले २ लाख रुपैयाँ जरिवाना तिराएको छ । गत जेठ २० गते हेटौंडा–४ मा रहेको न्यू शिवाकोटी सप्लायर्समा पनि म्याद सकिएको सामग्री बेचेको भेटिएको हुँदा ३ लाख रुपैयाँ जरिवाना तिराइएको थियो ।

यसैगरी, जेठ २१ गते हेटौंडा–७ मा रहेको आशीष बेकरी, भूटनदेवी बेकरी र हेटौंडा–४ मा रहेको अफान बेकरीमा सरसफाइको कमी, गुणस्तरहीन सामग्री भेटिएको थियो । ती बेकरीहरूमा अखाद्य सामग्री प्रयोग भइरहेको र खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नगरिएको पाइएपछि ३ वटै फर्महरूलाई संयुक्तरुपमा १ लाख ४० हजार रुपैयाँ जरिवाना लगाइएको थियो । जेठ २२ गते गरिएको अनुगमनमा हेटौंडा–४ मा रहेको अमन बेकरी र हेटौंडा–५ मा रहेको हिमाल बेकरी उद्योगले पनि स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको थियो । हिमाल बेकरीलाई २० हजार रुपैयाँ जरिवाना गरिएको थियो । सोही दिन हेटौंडा–१० मा रहेको रोज केक हाउसलाई पनि सरसफाइको अभाव र खाद्य सुरक्षामा चासो नदिएको भेटेपछि जरिवाना गरिएको थियो ।

गत असार १३ गते हेटौंडा अस्पताल परिसरभित्र सञ्चालनमा रहेको सुनिल क्यान्टिनमा अनुगमन गर्दा लापरबाहीरुपमा व्यवसाय गरिएको भेटिएको थियो । क्यान्टिनले प्रयोग गर्न नहुने अखाद्य तेल प्रयोग गरेको, म्याद गुज्रिएका खानेकुरा बिक्री गरेको र मूल्यसूचीसमेत नराखी व्यवसाय सञ्चालन गरेको भटेपछि प्रशासनले उक्त क्यान्टिनलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कँडेलले उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत आवश्यक कानुनी कारबाही गरिएको जानकारी दिँदै अनुगमन कार्य अझै प्रभावकारी ढंगले अगाडि बढाइने बताउनुभयो । उपभोक्ताहरूलाई ठगीबाट जोगाउन, गुणस्तरीय र स्वस्थ खाद्य तथा उपभोग्य वस्तुको सुनिश्चितता गर्न बजार अनुगमनलाई नियमित गरिने उहाँले बताउनु भएको छ ।

प्रशासनले व्यवसायीहरूलाई सचेत गराउँदै आगामी दिनहरुमा मापदण्ड विपरीत सञ्चालन गर्ने व्यवसायहरूलाई कारबाही गर्दै जाने जनाएको छ । प्रत्येक उपभोक्ताको हित र संरक्षणका लागि प्रशासन, सुरक्षा निकाय र विषयगत समितिहरूको संयुक्त टोलीले बजारमा अनुगमनको कार्यलाई निरन्तरता दिइने कँडेलले बताउनु भएको छ ।

Exit mobile version