हेटौँडा : सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुनचाँदी व्यवसायमा थपेको करको विरोधमा मकवानपुरका सुनचाँदी व्यवसायी आन्दोलित छन् । सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा देशभरका सुनचाँदी व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।
बजेटमा सुनका गहनामा ६.१२ प्रतिशत र हीरा तथा बहुमूल्य रत्न जडित गहनामा १३ प्रतिशत कर थप गरिएको छ । संघका महासचिव राजकुमार रसाइलीले सरकारको निर्णय मुलुकी देवानी संहिता २०७४ को धारा २५४ विपरीत रहेको दावी गर्नुहुँदै यसले आम उपभोक्तामाथि आर्थिक भार थोपरेको बताउनुभयो । उहाँका अनुसार सरकारको कर वृद्धिले कानुनी मर्यादाविपरित व्यापारलाई धक्का दिने मात्र नभई, सर्वसाधारण उपभोक्तामा अनावश्यक बोझ थुपारेको छ । रसाइलीले उच्च धनाढ्य र तस्करहरूको कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको अवस्थामा सरकार उनीहरूलाई नियन्त्रण गर्न नसकी उल्टै व्यवसायी र उपभोक्तालाई समस्यामा पारेको बताउनुभयो ।
त्यस्तै संघले असार २२ गतेदेखि २७ गतेसम्मका लागि चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । संघले आइतबार जिल्ला प्रशासन कार्यालयमा सांकेतिक प्रदर्शनबाट आन्दोलनको सुरू गरेको हो । सोमबार व्यवसायीले आन्तरिक राजश्व कार्यालय हेटौँडा परिसरमा धर्ना दिएका छन् । मंगलबार बजार क्षेत्रका मुख्य स्थानहरूमा जिंगल बजाउँदै विरोध र्याली निकाल्ने तयारी गरिएको छ । बुधबार मोटरसाइकल र्यालीसहित संघबाट बाइपास रोड, कर्रा, लक्ष्मी स्कुल कमाने, चौघडा, माछाप्लान, नगरपालिका, मानसचोक, हरीकुञ्ज रोड, कान्तिराजपथ, बुद्धचोक, नवलपुर हुँदै मनहरीमा कोणसभा परिणत गरिने छ । आन्दोलनको समापनमा बिहीबार र शुक्रबार काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको खबरदारी सभामा भाग लिने कार्यक्रम रहेको रसाइलीले बताउनु भएको छ ।
