हेटौँडा : बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा जिल्ला सुरक्षा समितिसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ । सोमबार मन्त्रालयले धुलिखेलमा आयोजना गरेको कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा मन्त्री लामिछानेले लागूऔषध न्यूनीकरण, बागमती प्रदेश सरकारको आगामी कार्ययोजनाका बारेमा धारणा तथा मन्त्रालयको आगामी रणनीतिको बारेमा जानकारी गराउनुभएको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकार एकजुट भएर लाग्नपर्ने उहाँले बताउनुभयो । मन्त्री लामिछानेले प्रदेश सरकारले हालसम्म ७२ प्रहरी भवन निर्माण गरेको जानकारी दिनुहुँदै प्रहरी दरबन्दी व्यवस्थापन र थप गर्न नेपाल सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जिल्ला सुरक्षा समितिहरुलाई शान्ति सुरक्षा कायम गर्न र विपद्मा संवेदनशील भई सहकार्यमा कार्य गर्न निर्देशन दिनुभएको छ ।
कार्यक्रममा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख र जिल्ला प्रमुखहरुको सहभागिता रहेको मन्त्रालयका कम्प्युटर अधिकृत उमेश सोतीले जानकारी दिनुभयो । कार्यक्रम मन्त्रालयका सचिव कृष्णबहादुर शाहीको अध्यक्षतामा भएको हो ।











