हेटौँडा: जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला सुरक्षा समितिको समन्वयमा मनसुनजन्य विपद् (पहिरो) प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम भिमफेदी गाउँपालिका–४ रानीखोलामा सम्पन्न गरिएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइटेलले गर्नुभएको थियो भने मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।

उक्त अभ्यास कार्यक्रममा भिमफेदी गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा, नेपाली सेनाका गणपति निरञ्जन धामी, सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अवस्थी, प्रहरी निरीक्षक ठाकुर सापकोटा, जिल्ला समन्वय समितिका सदस्यहरू, भिमफेदी–४ का वडाध्यक्ष, रेडक्रसका प्रतिनिधिहरू तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भिमफेदी–४ का स्थानीय बासिन्दा र विद्यार्थीसमेत गरी करिब १ सय जनाको सहभागिता रहेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा कृत्रिम अभ्यास प्रस्तुत गरेका थिए, जसमा पहिरो जस्ता विपद्को बेलामा खोज, उद्दार तथा तत्कालीन प्रतिकार्यमा सुरक्षा निकाय, जनप्रतिनिधि र समुदायको भूमिका स्पष्ट रूपमा चित्रण गरिएको थियो ।

जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्माका अनुसार उक्त अभ्यासले विपद् व्यवस्थापनको तयारी, समन्वय र आपतकालीन क्षमताको परीक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको जानकारी दिनुभएको छ ।