Home मुख्य समाचार वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु २ हजार धरौटीमा छुटिन्

वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु २ हजार धरौटीमा छुटिन्

हेटौँडा : हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देललाई आक्रमण गर्ने मञ्जु तामाङ २ हजार रुपैयाँ धरौटीमा छुटेकी छिन् । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको आदेशमा तामाङ आइतबार धरौटीमा छुटेकी हुन् । मञ्जु धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

गत बिहीबार हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसबाट हुप्रचौरतर्फ जाने भित्री सडक निर्माणको कार्य भइरहेका बेला निर्माण कार्यको अवलोकन गर्न पुग्नुभएका वडाध्यक्षमाथि मञ्जुले हातपात गरेकी थिइन् । मञ्जु तामाङ निर्माण व्यवसायी हुन् । उनी निर्माण कार्य भइरहेको स्थानमै रहेका बेला वडाध्यक्ष सिग्देल पुगेर छलफल गर्दै गर्दा मञ्जुले मोबाइलबाट भिडियो बनाउन खोजेपछि वडाध्यक्षले रोक्नुभएको थियो । वडाध्यक्षले भिडियो नबनाउन भन्दै गर्दा मञ्जुले एक्कासी हातपात गरेकी थिइन् ।

मञ्जुले वडाध्यक्ष सिग्देलमाथि आक्रमण गरेको विरोधमा हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले शुक्रबार एकदिन सेवा रोकेका थिए । उपमहानगरपालिकाले आफ्नो सेवा रोकेको विषयलाई लिएर तीव्र आलोचना समेत भएको थियो । यसअघि हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेमाथि कालो मोबिल प्रहार भएको थियो । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने अन्य फरार छन् ।

Exit mobile version