असार १३ गते शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । एसईई दिएर बसेका लाखौं विद्यार्थीको तीन महिनाको प्रतिक्षाको घडी सकिएको छ । उनीहरुको १० वर्षसम्मको विद्यालय शिक्षा परीक्षाको उपलब्धी हात परेको छ । परीक्षा नियन्त्रण कार्यालय (परीक्षा बोर्ड) ले २०८१ चैत्र ७ गतेदेखि सञ्चालन गरेको एसईईको नतिजा सार्वजनिक गर्यो जस अनुसार देशभरबाट ६१.८१ प्रतिशत विद्यार्थी सफल भए अर्थात् विभिन्न ग्रेडमा उत्तीर्ण भए ।
गत वर्षको तुलनामा यस वर्षको नतिजामा १४ प्रतिशतले बढेको देखिन्छ । यसरी देशको कूल नतिजामा एसएलसी होस् वा एसईई दुबै परीक्षामा अघिल्लो वर्षको तुलनामा अलि धेरै नै प्रतिशतले विद्यार्थी उत्तिर्ण हुँदा शिक्षाविद्हरु र शिक्षासँग सरोकार राख्ने व्यक्तिहरुबाट शंका र अविश्वासका कुराहरु पनि व्यक्त भएका छन् । नेपालमा किन यस्तो हुन्छ ? कुनै पनि सरकारी निकायहरुबाट भए गरेका कामकाजहरु किन निश्पक्ष र विश्वासयोग्य हुन सक्दैन ? यस प्रश्नले आम अभिभावक, विद्यार्थीहरु र शिक्षासँग सरोकार राख्ने सम्पूर्ण व्यक्तिहरुलाई प्रत्यक्ष चासो र प्रभाव पारेको छ भने सरकारलाई पनि गम्भीर भएर यस बारे आम नागरिकलाई विश्वस्त पार्नुपर्ने चुनौति देखिन्छ ।
बि.सं. १९९० सालबाट सुरु भएको कक्षा १० को बोर्ड परीक्षा एसएलसी हुँदै एसईईको नाममा लिँदै आएको छ । पहिले धेरै वर्षसम्म नेपाल अधिराज्य भरी परीक्षा नियन्त्रण कार्यालयले एउटै प्रश्नपत्रमा परीक्षा संचालन गथ्र्यो र नतिजा पनि राष्ट्रिय अखबार गोरखापत्र दैनिकमा प्रकाशित गरिन्थ्यो । अहिले देशमा गणतन्त्र स्थापना भएपछि भने सातवटा प्रदेशमा अलग अलग प्रश्न–पत्र को आधारमा एसईई सञ्चालन गरिएको छ । तर, परीक्षाको समय भने एउटै हुन्छ र यसको नतीजा पनि राष्ट्रियस्तरमा परीक्षा हेर्ने निकाय परीक्षा नियन्त्रण कार्यालयले गर्ने गरेको पाइन्छ ।
नतिजा भनेको विद्यार्थीको शैक्षिक उपलब्धी तथा वर्षभरि गरेको मिहिनेतको प्रतिफल हो ।
जसरी एउटा किसानले आफुले लगाएको बाली भित्र्याउने बेलामा खुशी हुन्छ त्यसैगरी विद्यार्थीहरुले १० वर्षभर अध्ययन गरेर एक खुड्किलो चढ्दै दशौं खुड्किलो उक्लेर आफ्नो नयाँ गोरेटो कोर्न पाउँदा खुशी हुनु स्वभाविक हो । तर राम्रो ग्रेड ल्याउने विद्यार्थी खुशी हुन्छ भने ननग्रेडेड अर्थात् असफल भएका विद्यार्थी भने दुखी र चिन्तित हुन्छन् । तर ती विद्यार्थीहरुका लागि पनि असार ३१ गतेबाट ग्रेडवृद्धि मौका परीक्षा लिन एसईईको नतिजा प्रकाशित भएको दिनमा नै जानकारी गराएको छ । त्यसैले ती विद्यार्थीहरु हत्तोत्साही हुनुपर्दैन । एकपटक असफल हुँदैमा हरेश खानु हुँदैन । लगातारको प्रयासपछि अवश्य सफलता पाउन सकिन्छ ।
‘सफलता हासिल नभएसम्म प्रयास गरिरहनु’ भन्ने भनाइ छ । वास्तवमा एसईई एउटा कठिन परीक्षा मानिन्छ । यसलाई पहिले पहिले फलामे ढोका पनि भनिन्थ्यो । यो परीक्षाको सबैले चासोको रुपमा हेरेको पनि पाइन्छ । एसईई अघिका परीक्षाहरु र पछिका परीक्षाहरुको खासै चासो, चिन्ता र महत्व दिएको पाइँदैन । तर यो एसईईको महत्व एकदम फरक पाइन्छ । किन होला ? स्नातक र स्नात्तकोत्तर तहको परीक्षा समय र नतिजाको बारेमा सम्बन्धित व्यक्तिलाई मात्र जानकारी हुन्छ, अन्य अभिभावक र साथीलाई पनि जानकारी नहुन सक्छ । एसईईको बारेमा प्रत्येक अभिभावक, विद्यार्थी स्वयम् र अन्य छिमेकका व्यक्तिहरुलाई समेत चासो र खुल्दुली परिरहन्छ । यसको कारण तल उल्लेख गरिएको छ ।
– यो परीक्षालाई एउटा आधार परीक्षा मानिन्छ ।
– यो परीक्षा उत्तीर्ण भएपछि उच्च शिक्षाको नयाँ गोरेटो पहिचान गर्छ ।
– एसईई उत्तीर्ण भएपछि विभिन्न सरकारी र गैरसरकारी सेवामा रोजगारी प्रवेश गर्न ढोका खुल्छ । यद्यपी हाल १२ कक्षा उत्तीर्ण हुनुपर्ने प्रावधान छ ।
– एसईई उत्तीर्ण भएपछि विभिन्न सरकारी सेवा जस्तै नेपाल प्रहरी, नेपाली सेना र अन्य पेशामा प्रवेश गर्ने अवसर प्राप्त हुन्छ ।
– एसईईको नतिजाले देशको विद्यालयस्तरमा शैक्षिक उपलब्धीस्तर र शैक्षिक सुचाकांक मापन गर्न सकिन्छ । साथै विभिन्न विषयगत शिक्षकहरुले आफूले पढाएको विषयको सिकाइ उपलब्धि प्रष्ट पार्छ र शिक्षकको कमजोरी र दक्षताको पहिचान हुन्छ ।
माथि उल्लेखित भनाइहरुबाट एसईईका बारेमा जनचासो र महत्व बढेको हो भन्न सकिन्छ । यस्तो महत्व राख्ने परीक्षालाई नेपाल सरकारले २०८१/१२/३० गते एसईई २०८२ देखि नहुने भनेर मन्त्रिपरिषद् निर्णय गरेर लाखौं विद्यार्थीहरुलाई अचम्मित बनायो । जतिबेला चैत्र २० गतेदेखि देशैभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा थिए । २०८१ को एसईईको उत्तरपुस्तिका परीक्षणको काम भएको थिएन र सरकारले हतास मनस्थितिले एसईई नहुने सूचना जारी गर्यो । तर निर्णय आफैमा चित्त बुझ्दो र सही थिएन । राष्ट्रिय परीक्षा बोर्डमा कक्षा १२ को परीक्षा संचालन र मूल्याङ्कन गर्ने कार्य गर्दै आएकोमा अब आगामी दिनमा एसईईलाई पनि नयाँ शिक्षा ऐनमा नयाँ व्यवस्था गरी प्रदेशस्तरमा यस परीक्षा संचालन गर्ने र नतिजा प्रकाशनको काम पनि सातै प्रदेशमा रहने परीक्षा नियन्त्रण कार्यालयले गर्ने गरी तोक्न सकिन्छ । त्यसैले एसईई खारेज गर्ने होइन यसलाई निरन्तर रुपमा अगाडि बढाउनु पर्छ । यसो गरेमा अध्ययन गर्ने रुची र चाहना बढ्नुका साथै विद्यमान शैक्षिकस्तर माथि उठाउन समेत टेवा पुग्दछ ।
