हेटौँडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरिएको छ । आज आइतबार नै प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गर्ने तयारी गरिएको हो । बजेट माथिको विवादका कारण गत असार १२ गतेदेखि पटक–पटक अवरुद्ध हुँदै आएको प्रदेशसभाको बैठक शुक्रबार दिउँसो र शनिबार अबेर गरेर बसेको थियो ।
शुक्रबार बजेट वक्तव्य माथि छलफल गरेर विनियोजन विधेयक पेश गरेपनि प्रतिपक्षी दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि स्थगित भएको थियो । शनिबार बिहानै दलहरु बीच छलफल गरेपनि सहमति जुट्न नसकेपछि अन्ततः सरकारले शनिबार साँझ प्रदेशसभामा बजेटको पूरक प्रस्ताव दर्ता गराएको थियो । त्यस लगत्तै संचालन भएको प्रदेशसभा बैठक बजेटको पुरक प्रस्ताव र विनियोजन विधेयक पेश गरी छलफल गरिएको थियो । छलफल पश्चात् सभामुख भुवनकुमार पाठकले खर्च कटौतीको प्रस्ताव माग गरेर प्रदेशसभा बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित गर्नुभयो । सभामुख पाठकका अनुसार आइतबार मन्त्रालयगत छलफल, मन्त्रीहरुको जवाफसहित खर्च कटौतीको प्रस्ताव माथि निर्णय गरेर बजेट पास गर्ने तयारी छ ।
सरकारको बजेट पास गर्ने तीव्र भइरहेका बेला नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ । संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले असार २२ गते बिहान ११ः०० बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिनुभएको छ । शनिबार जारी गरिएको पत्रमा प्रमुख सचेतक लम्सालले पार्टीको नीतिगत निर्णयअनुसार बजेट सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिनुभएको हो ।
यसअघि प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेटमाथि प्रस्तुत प्रस्तावमा सत्तारूढ दल र विपक्षीबीच असहमति देखिएको थियो । उक्त अवस्थामा कांग्रेस संसदीय दलको बैठकले बजेट र सरकारको विरोधमा नबोल्न समेत सचेत गराएको थियो । कांग्रेसले ह्विप जारी गर्दै आफ्ना प्रदेशसभा सदस्यलाई एक ढिक्का बनाएपछि बजेट पक्षमा उभिन संसदीय दलले निर्देशन गरेको छ ।
