हेटौँडा : रोटरी क्लब अफ हेटौंडाको ३४ औं र रोट्र्याक्ट क्लब अफ हेटौंडाको १० औं पदस्थापना कार्यक्रम शनिबार हेटौँडामा भएको छ । रोटरी र रोट्र्याक्ट क्लबको वर्ष २०२५–२६ का लागि नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम भएको हो । पदस्थापन समारोहमा रोटरी क्लब अफ हेटौँडाको मुखपत्र स्मारिका विमोचन, उत्कृष्ट विद्यार्थी सम्मान, साँस्कृतिक कार्यक्रम समेत भएको थियो । रोटरी क्लबको अध्यक्षमा प्रमेश प्रधान र रोट्र्याक्ट क्लबको अध्यक्षमा केशर श्रेष्ठ पदस्थापित हुनुभएको छ ।
कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ का डिस्ट्रिक्ट गभर्नर नोमिनी (डिजीएन) डा. ईश्वरीप्रसाद ढकालले सपथ ग्रहणसँगै रोटरी क्लब अफ हेटौँडाको वर्ष २०२५/२६ का अध्यक्ष प्रमेश प्रधानलाई चार्टर प्रमाणपत्र, पिन, कोलार र ज्यावल हस्तान्तरण गर्नुभयो । अध्यक्ष प्रधानले बोर्ड समितिका पदाधिकारीलाई सपथ ग्रहण गराउनुभयो । रोटरी क्लब अफ हेटौँडाको अध्यक्षमा पदस्थापन पनि प्रमेश प्रधानको नेतृत्वमा २२ सदस्यीय समितिको पदस्थापित भएको छ । नयाँ समितिमा प्रकाश ढकाल निवर्तमान अध्यक्ष, किशोर पराजुली प्रेसिडेन्ट इलेक्ट, अर्पण सञ्जेल उपाध्यक्ष, रामबहादुर थापा सचिव र सुदर्शन ढकाल कोषाध्यक्ष हुनुभएको छ । अध्यक्ष प्रधानले क्लबका सदस्य तथा पदाधिकारीलाई विभिन्न जिम्मेवारी दिनुभएको छ ।
कार्यक्रममा भोकेश्नल एक्सिलेन्सी अवार्डको अक्षयकोषका लागि रुद्रकुमारी वैद्यले ३ लाख २५ हजारको चेक हस्तान्तरण गर्नुभयो । वैद्यले यसअघि पनि कोषमा १ लाख ७५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । उहाँले ६ लाख रुपैयाँ थपेर ११ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने बताउनुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश ढकालले संस्थाको वर्ष २०२४/२५ को गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच रोट्र्याक्ट क्लब अफ हेटौँडाको १० औं पदस्थापन तथा सपथ कार्यक्रम पनि एकसाथ सम्पन्न भएको छ । कार्यक्रममै मकवानपुर जिल्लामा एसईईमा प्रथम विद्यार्थी अस्मिता घिमिरेलाई नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ हेटौँडाका वर्ष २०२५/२६ अध्यक्ष केशर श्रेष्ठसहित बोर्ड समितिका पदाधिकारीलाई पदस्थापन तथा सपथ गरिएको थियो । कार्यक्रममा रोट्र्याक्ट क्लब अफ हेटौँडाकी निवर्तमान अध्यक्ष सुमित्रा लामाले संस्थाको वर्ष २०२४/२५ को गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ रिजन ६ र जोन ३५ का असिस्टेन्ट गभर्नर(एजी) हरिकुमार श्रेष्ठ र जोन ३४ का एजी धनबहादुर श्रेष्ठको विशिष्ठ आतिथ्य रहेको थियो । रोटरी क्लब अफ हेटौँडाले मकवानपुरमा रहेर स्वास्थ्य, शिक्षा, सीप विकाससम्बन्धी कार्यक्रम गर्दै आएको छ ।
