हेटौंडा : हेटौँडा–५ स्थित संजीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाल ज्योति माध्यमिक विद्यालयलाई फ्यान हस्तान्तरण गरेको छ । सामुदायिक विकास कोष अन्तर्गत रहेको वार्षिक कार्यक्रम अनुसार शुक्रबार फ्यान हस्तान्तरण गरिएको हो ।
सहकारी संस्थाकी अध्यक्ष जानकी चौधरीद्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र पोखरेललाई ९ वटा सिलिङ फ्यान हस्तान्तरण गरिएको हो । सहकारी संस्थाले सामाजिक उत्तरदायित्वका रुपमा विविध कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष सुशील घिमिरेले विद्यालयको भौतिक, शैक्षिक विकास गरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्न वडाले सक्दो सहयोग र सहकार्य गर्दै आएको बताउनुभयो । समुदायका अभिभावक, शिक्षक र सरोकारवाला सबैको हातेमालोमा स्तरीय नतिजा प्राप्त गर्न सकिने उदाहरण बालज्योति मावि बनेको उल्लेख गर्नुहुँदै उहाँले सहकारीको तर्फबाट भएको सहयोग प्रशंसनीय भएको बताउनुभयो । १० कक्षासम्म पठनपाठन हुने बालज्योति माविमा १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहकारी संस्थाका व्यवस्थापक प्रकाशबहादुर खनालले संस्थाको आयव्ययबारे जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ महिनासम्म संस्थाको ४५ करोडको कारोबार भएको छ । २ हजार १ सय ८५ महिला र १ हजार ३ सय ५३ पुरुष गरी ३ हजार ५ सय ३८ सेयर सदस्य रहेको सहकारीको ३ करोड ५९ लाख रुपैयाँ सेयर पुँजी रहेको छ । सहकारीले ३३ करोड ५४ लाख रुपैयाँ ऋण लगानी गरेको उहाँले बताउनुभएको छ ।
