सुरेन्द्र राज गोसाइ ।

हेटौँडा : नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज गोसाइले बागमती प्रदेशको बजेटसत्र पटक–पटक सरिरहेको विषयले सत्ता समीकरणको खेलमै अल्झिदा जनप्रतिनिधिको गरिमा भन्दा बेइज्जती बढी भएको बताउनुभएको छ ।

असार १ गतेपछि निरन्तर स्थगित हुँदै आएको प्रदेशसभा बैठक असार २० गते केहीबेर चले पनि फेरि अनिश्चितकालका लागि स्थगनमा परेको भन्दै उहाँले सामाजिक सञ्जालबाट आक्रोश व्यक्त गर्नुभएको छ । ‘सरकारले शुक्रबार (असार २०) बेलुकी ६ बजे प्रदेशसभा बैठक बस्ने भनेको थियो । तर, पुनः निर्णय फेर्दै शनिबार (असार २१) दिउँसो १ बजे बोलाइयो । त्यो समय पनि पुग्न नपाउँदै फेरि ४ बजे सारियो । ४ बजेपछि फेरि कहिले हुन्छ भन्ने अत्तोपत्तो छैन । यसरी पटक–पटक बैठक सारिँदा बागमती प्रदेशको शासकीय चरित्रमाथि गम्भीर प्रश्न उठेको छ,’ उहाँले भन्नुभएको छ ।

‘बजेट हो कि बिचौलियाको जेट ?’ भन्दै नेता गोसाईले सत्तारूढ गठबन्धन दलहरू सत्ता भागबन्डा मिलाउनमै व्यस्त हुँदा बजेट सत्र ‘साउनको गाईजात्रा’ मा परिणत भएको टिप्पणी गर्नुभएको छ । ‘पटक–पटक बैठक सार्दै भागबन्डा मिलाउँंदै बागमतिका शासकहरू ! शासकहरूको सुशासन यही त होला ।’ उहाँले भन्नुभएको छ । ‘दक्षिणा चढाएर यहाँसम्म आएकाहरू दक्षिणा असूलउपर नगरी फिर्ता त किन जालान् ?’ उहाँको प्रश्न छ ।