Home मुख्य समाचार प्रोत्साहित गर्दा कमजोर विद्यार्थी पनि एसईईमा उत्तीर्ण

प्रोत्साहित गर्दा कमजोर विद्यार्थी पनि एसईईमा उत्तीर्ण

विद्यालय प्रथम हुने पूर्णिमा यादवलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिँदै ।

हेटौँडा : संस्थागत विद्यालयको प्रमुख चुनौति हो नतीजा । नतीजा राम्रो आएन भने निजी विद्यालयलाई अभिभावक र समाजले पत्याउँदैन । अझ एसईईमा त निजी विद्यालयलाई बढी भन्दा बढी विद्यार्थी राम्रो प्राप्तांकसहित उत्तीर्ण गराउनुपर्ने चुनौति रहन्छ । हेटौँडा–३, बसामाडीस्थित शिक्षा विकास शिशु सदनका लागि पनि २०८१ सालको एसईईमा केही कमजोर विद्यार्थीको नतीजा राम्रो नआएर विद्यालयको समग्र नतीजा नै लज्जास्पद पो हुने हो कि भन्ने डर थियो ।

तर, ३० वर्षदेखि विद्यालय सञ्चालन गदै आउनुभएकी संस्थापत प्रिन्सीपल ग्रेस श्रेष्ठले विद्यार्थीलाई राम्ररी पढ्न, राम्रो नतीजा ल्याउन प्रेरित गर्ने गरी एउटा घोषणा गर्नुभयो । १० कक्षामा अध्ययनरत कमजोर ६ जना विद्यार्थीलाई गत माघमा उसईई अभ्यास परीक्षामा कमजोर देखिएपछि थप मिहिनेत गर्न र एसईईमा राम्रो नतीजा हासिल गर्न प्रिन्सीपल श्रेष्ठले आग्रह गर्नुभयो । कक्षा शिक्षकहरुबाट पनि ६ जना विद्यार्थीको अवस्था कमजोर रहेको र उत्तीर्ण हुन गाह्रो हुने सुझाव प्राप्त भएपछि प्रिन्सीप्ल ग्रेस श्रेष्ठले कमजोर भनिएका विद्यार्थीको समूहलाई एसईईका लागि मिहिनेत गर्न समय रहेको र मिहिनेत गरेर उत्तीर्ण भयो भने जनही ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गर्ने घोषणा गर्नुभयो ।

उत्तीर्ण मात्रै हुँदा पनि नगदसहित पुरस्कृत हुने भएपनि विद्यार्थीले मिहिनेत गरे । नभन्दै अघिल्लो शुक्रबार एसईईको नतीजा सार्वजनिक हुँदा शिक्षा विकास शिशु सदनका पढाईमा कमजोर भनिएका ६ जना विद्यार्थी मध्ये ५ जना विद्यार्थी उत्तीर्ण भए । २०८१ सालको एसईईमा ३४ जना सहभागी भएकामध्ये ३० जना उत्तीर्ण हुँदा ४ जना विद्यार्थी एउटा विषयमा ननग्रेडेड भए । उनीहरु पनि ग्रेडवृद्धि मौका परीक्षामा सफल हुने विद्यालयका संयोजक अशोक राज मैनालीले जानकारी दिनुभयो ।

विद्यालयले पढ्न प्रोत्साहित गर्दा मिहिनेत गरेर एसईई उत्तीर्ण ५ जना विद्यार्थीलाई शिक्षा विकास शिशु सदनले जनही ५ हजार रुपैयाँसहित मायाको चिनो हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर विद्यालयले अभिभावकको समेत उपस्थितिमा विद्यार्थीलाई मायाको चिनोसहित विदाई गरेको छ । विद्यालयले प्रथम हुने विद्यार्थी पूर्णिमा यादवलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ । संस्थापक प्रिन्सीपल ग्रेस श्रेष्ठले एसईई उत्तीर्ण विद्यार्थीलाई आगामी शैक्षिक जीवनको शुभकामना व्यक्त गर्नुहुँदै असल बन्न, मिहिनेत गर्न, अध्ययन गर्न आग्रह गर्नुभयो ।

Exit mobile version