हेटौँडा : शनिबारको बिदामा वनभोजमा रमाउन मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे आएका एक पुरुषको खोलामा डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेको समयमा प्रहरीलाई जानकारी प्राप्त भएको र प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ ।
बीरगन्जबाट आएको वनभोज टोलीका एक सदस्यको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–५ का ५० वर्षीय पुरुषोत्तम शर्मा रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । खोलामा नुहाइरहेको बेला एक्कासी खोलाको बहाव बढेपछि बगाएको बताइएको छ । गर्मी मौसममा हेटौँडा–१, चौकीटोलदेखि भीमफेदी गाउँपालिका–१ भैंसेसम्म राप्तीखोलामा नुहाउने, वनभोज खानेहरुको भीड लाग्ने गरेको छ ।
