हेटौँडा : बागमती प्रदेशसभा बैठक संचालन गर्न प्रतिपक्षी दलहरुले बजेटको पूरक प्रस्ताव माग गरेका छन् । सरकारले प्रस्तुत गरेको बजेट कार्यक्रममा छुटेका विषयहरु समेटेर पूरक प्रस्ताव प्रदेशसभामा नल्याएसम्म बैठक चल्न नदिने माओवादी केन्द्रको अडान रहेको छ ।
माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभामा बजेटको पूरक प्रस्ताव दर्ता नभएसम्म बैठक चल्न नसक्ने बताउनुभयो । उहाँका अनुसार सरकारसँग शुक्रबारबाटै निरन्तर छलफल भइरहेको र सरकारलाई प्रतिपक्षीको तर्फबाट सहमतिमा उल्लेख भएका विषयहरु कार्यान्वयन गर्न तथा बजेटको पूरक प्रस्ताव ल्याउन माग गरिएको हो । सरकारले प्रतिपक्षीको मागका सन्दर्भमा सकारात्मक देखिएर आवश्यक प्रबन्धमा लागेको उहाँले बताउनुभयो ।
यता सरकार भने माओवादी केन्द्रले माग गरे बमोजिमको विषय सम्बोधनमा लागेको मुख्यमन्त्री बहादुर सिंह लामाको सचिवालयले जनाएको छ । सचिवालयका एक सदस्यका अनुसार प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्तावमा नै उक्त पूरक प्रस्ताव समावेश गर्ने विषयमा प्रक्रिया मिलाउन मुख्यमन्त्री लामा लागिरहनुभएको छ ।
उता प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले भने प्रदेशसभा चलाउने र प्रतिपक्षीको मागका विषयमा तत्काल कुनै निश्कर्ष ननिस्किएको बताउनुभयो । माओवादीले माग गरे अनुसार बजेटको पुरक प्रस्ताव ल्याउने सम्भावन नरहेको उहाँले प्रष्ट पार्नुभयो । यसैबीच शनिबार दिउसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर ३ बजेसम्म सारिएको छ ।











