Home मुख्य समाचार खुशीयाली कायम राखौँ

खुशीयाली कायम राखौँ

गत चैत ७ गतेबाट सुरु भएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक साताअघि सार्वजनिक भयो । एसईईमा देशव्यापी करिब ६२ प्रतिशत विद्यार्थी सफल हुँदा मकवानपुर जिल्लामा करिब ४७ प्रतिशतमात्र विद्यार्थी उत्तीर्ण भए । हेटौंडा उपमहानगरपालिकाका विद्यालयहरुको नतिजा पनि ५८ प्रतिशतमा सीमित बन्यो । हेटौंडाका पनि संस्थागत विद्यालयहरुको समग्र नतिजा ८६ प्रतिशत हुँदा सामुदायिक विद्यालयहरुको नतिजा ५० प्रतिशतमात्र रह्यो । यस वर्षको एसईईमा मकवानपुर जिल्लाका ५ जना विद्यार्थीले जीपीए ४ ल्याउन सफल भए । एउटा सामुदायिक र ४ वटा संस्थागत विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भए । जिल्लाका ७ वटा विद्यालयका कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । केही विद्यालयको नतिजा सुधार भए पनि धेरै विद्यालयहरुको नतिजा निराशाजनक देखियो ।

विगतमा कक्षा १० सम्म विद्यालय शिक्षा हुँदा कक्षा १० को परीक्षालाई एसएलसी भन्ने गरिन्थ्यो । अहिले कक्षा १२ सम्म विद्यालय तह रहेकाले कक्षा १० को परीक्षालाई एसईई भन्ने गरिएको छ । एसएलसीको सट्टा एसईई भनिए पनि यी दुई परीक्षामा तात्विक अन्तर छैन । अहिलेको एसईई पनि विगतको एसएलसीजस्तै राष्ट्रियस्तरमै सञ्चालन हुने गरेको छ । विद्यार्थीले प्राप्त गरेको विषयगत अंकलाई ग्रेडमा बदलेर नतिजा प्रकाशन गर्ने गरिएको छ । विषयगत ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी नट ग्रेडड अर्थात् अनुत्तीर्ण हुने गरेका छन् । लेटर ग्रेडिङ पद्दति सुरु भएका केही वर्ष अनुत्तीर्ण हुने व्यवस्था हटाइएको भए पनि पछिल्ला केही वर्षदेखि विद्यार्थी अनुत्तीर्ण हुन थालेका छन् । यसले गर्दा एसईई परीक्षाको नतिजालाई विद्यालय, विद्यार्थी र शिक्षकको उपलब्धि मापन गर्ने आधार मान्न थालिएको छ । फलस्वरुप नतिजा सार्वजनिक भएपछि कुन विद्यालयको नतिजा कस्तो आयो भन्ने विषयमा व्यापक चासो र चिन्ता हुने गरेको छ ।

एसईई नतिजा सार्वजनिक भएपछि मकवानपुरका विभिन्न विद्यालयहरुमा खुशीयाली मनाइएको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षकलाई सम्मान गर्ने, नगद पुरस्कार प्रदान गर्ने र बाजागाजासहित र्याली निकाल्ने काम भइरहेका छन् । शतप्रतिशत नतिजा ल्याएको जिल्लाकै एकमात्र सामुदायिक विद्यालय शारदा मावि, शतप्रतिशत नतिजा ल्याएको संस्थागत विद्यालयहरु बालजागृति इङ्लिस स्कूल, मकवानपुर बाल विद्या सदन, उत्कृष्ट नतिजा ल्याएको बालबोध मावि, बालज्योति मावि, जनप्रिय माविलगायतले खुशीयाली मनाएका छन् । विद्यालयहरुले खुशीयाली ¥यालीसँगै शिक्षक–विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । विगतको भन्दा नतिजा सुधार गरेका विद्यालयहरुले पनि औपचारिक कार्यक्रमहरु गरेर खुशीयाली मनाएका छन् ।

ग्रामीण भेगका अधिकांश सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएको छ । विविध समस्या र उचित व्यवस्थापन नहुँदा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा कमजोर बन्ने गरेको छ । नतिजा सुधारका लागि सार्थक प्रयास गरेका कतिपय विद्यालयहरु सफल देखिएका छन् । केही पालिकाले पनि एसईई नतिजा सुधारका योजनावद्ध लागेका छन् । सबै पक्षको दायित्वबोध, जवाफदेहिता र प्रयत्नबाट नतिजा सुधार हुनेमा दुईमत नहोला । यस वर्ष राम्रो नतिजा ल्याएर खुशीयाली मनाएका विद्यालयहरुले आगामी वर्षको एसईईमा त्यो भन्दा राम्रो गरेर खुशीयालीलाई कायम राख्नु आवश्यक छ । आशातित नतिजा हासिल नभएका विद्यालयहरुले पनि सबै प्रकारका प्रयत्न गरेर आगामी वर्ष खुशीयाली मनाउने अवस्था बनाउनुपर्छ ।

Exit mobile version