विवाद भएको निर्माणाधिन सडक । वडाध्यक्ष नवीन सिग्देल (इन्सेकमा) ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको छ । बिहीबार बिहान हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसदेखि हुप्रचौरतर्फ निस्कने सडक विस्तारको कामको विषयमा हेटौँडा क्याम्पस अगाडि छलफल भइरहँदा वडाध्यक्ष सिग्देलमाथि काभ्रे जिल्लाको रोशी गाउँपालिकाकी मञ्जु लामाले हातपात गरेको प्रहरीले जनाएको छ ।

वडाध्यक्षमाथि आक्रमण गर्ने महिला निर्माण व्यवसायी भएको प्रहरीले जानकारी दिएको छ । सडक निर्माणको विषयलाई लिएर वडाध्यक्षले कुरा राखिरहँदा मञ्जु लामाले भिडियो खिच्न थालेपछि वडाध्यक्षले भिडियो नखिच्नु भन्नुभएको थियो । ‘वडाध्यक्षले भिडियो नबनाउन भन्दै मोबाइल बन्द गर्न भनी हातले छेकेपछि महिलाले एक्कासी वडाध्यक्षमाथि आक्रमण गरिन्’, एक प्रत्यक्षदर्शीले भने ।

वडाध्यक्षमाथि आक्रमण भएपछि प्रहरीले महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । हेटौँडा क्याम्पसदेखि हुप्रचौर सडक लामो समयदेखि निर्माण हुन नसक्दा वडा कार्यालय, वडाध्यक्षमाथि स्थानीयले गुनासो गर्दै आएका थिए । उक्त सडकखण्डमा वर्षाको समयमा पानी जमेर पैदलयात्रीलाई निक्कै सास्ती समेत हुँदै आएको थियो । वर्षायाममा उक्त सडकखण्डमा पानी जमेर सर्वसाधारणलाई सास्ती भएको भनी सामाजिक सञ्जालमा भिडियो समेत बनाएर राख्ने गरिएको थियो ।

ढल निकाससहित सडक विस्तार गर्न भनी ठेक्का सम्झौता भएपछि स्थानीय दुई साताको अवधिमै पर्खाल भत्काएर बाटो फराकिलो गरी निर्माण व्यवसायीलाई काम गर्न सहज बनाए पनि झण्डै डेढ वर्षदेखि उक्त सडक निर्माण हुन सकेको थिएन । असारको अन्तिम हुँदै गर्दा बुधबारदेखि मात्रै व्यवसायीले ढल निर्माणका लागि खाल्डो खन्न सुरु गरेको थियो । बिहीबार बिहानको विवादसँगै निर्माण कार्य रोकिएको छ । वडाध्यक्षमाथि आक्रमणको घटनापछि वडा कार्यालयले पनि शुक्रबारका लागि तय गरिएको कार्यक्रम रद्द गरेको छ ।