हिटलरको नाजीवादी शासनविरुद्ध उभिएका प्रोटेस्टेन्ट धर्मशास्त्री, जर्मन कवि मार्टिन निमोलर (सन् १८९२–१९८४) को कालजयी कविताको नेपाली भावार्थ स्मरण गरौं,
पहिले तिनीहरू कम्युनिष्टहरूलाई लिन आए
म बोलिनँ, किनकि म कम्युनिष्ट थिइनँ ।
त्यसपछि तिनीहरू समाजवादीहरूलाई लिन आए
म बोलिनँ, किनकि म समाजवादी थिइनँ ।
त्यसपछि तिनीहरू ट्रेड युनियनवादीहरूलाई लिन आए
म बोलिनँ, किनकि म ट्रेड युनियनवादी थिइनँ ।
त्यसपछि तिनीहरू यहूदीहरूलाई लिन आए
म बोलिनँ, किनकि म यहूदी थिइनँ ।
त्यसपछि तिनीहरू मलाई लिन आए,
र मेरा लागि बोल्न कोही बाँकी रहेनन् ।
हिटलरको नाजी शासनविरुद्ध आवाज उठाउने जर्मन कवि र धर्मशास्त्री मार्टिन निमोलरको कालजयी कविता आजको नेपाली राजनीतिक सन्दर्भमा झन् सान्दर्भिक बन्दै गएको छ । यही कविता अहिलेको नेपालमा फेरि जीवन्त भएको छ । जब कुनै टिकटक प्रयोगकर्ता ‘नेता चोर हुन्’ भन्छ, उनलाई पक्राउ गरिन्छ, हामी मौन रहन्छौं । जब स्वतन्त्र पत्रकारले सरकारको आलोचना गर्छन् र उनीमाथि मुद्दा लगाइन्छ, हामी फेरि मौन रहन्छौं । जब सरकारविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेख्ने जनतालाई रातारात थुनिन्छ, हामी चुप लाग्छौं र यदि भोलि यी सबै अभ्यास गर्दै आएका एकजना आम नागरिकलाई समेत समातिन्छ भने, त्यसबेला बोल्नका लागि कोही बाँकी नहुन सक्छ । अहिलेको मौनता भोलिको सर्वनाशको संकेत हो ।
नेपालको राजनीतिप्रति आम मानिसको वितृष्णा चूलिँदै छ । एक समय लोकतन्त्रका लागि सडकमै उत्रिने नेताहरू अहिले लोकतन्त्रकै हुर्मत लिने प्रवृत्ति बढेर गएको छ । वर्तमान सरकार जुन शैलीमा अघि बढ्दैछ त्यसले गम्भीर भ्रष्ट्राचारमा मुछिएका पात्रहरूलाई संरक्षण गर्नु, न्यायिक तथा संवैधानिक संस्थाहरूलाई नियन्त्रणमा राख्नु विरोध गर्ने जनतालाई दमन गर्ने चरित्रले सरकार दिनप्रतिदिन उदाङ्गो हुँदैछ । आफूलाई शीर्ष भन्ने नेता आज जहाँ पुग्छन्, त्यहाँ नाराबाजी हुन्छ, चोर देश छोडको नारा लाग्छ, जनताको आक्रोश प्रस्फुटित हुनुलाई स्वाभाविक ढंगले लिने घटनाले राजनीति प्रदुषित भएको देखिन्छ । त्यो कुनै सानो समूहको असन्तुष्टि होइन, त्यो त जनताको लामो मौन पीडाको विस्फोटक रुप हो । ती सबै दृश्यहरूले यत्ति मात्र देखाउँछ वर्तमान नेतृत्वले अब जनताको चाहनाको प्रतिनिधित्व गर्दैन ।
लोकतन्त्रमा आलोचना हुनु स्वभाविक हो, आवश्यक पनि हो । तर सरकार भने आलोचना सहनै सक्दैन । सरकार यति निरंकुश हुँदैछ कि उ आलोचकहरू चाहे तिनीहरू पत्रकार हुन्, सामाजिक अभियन्ता हुन् वा युवाहरू सबैलाई राष्ट्रघाती, विदेशी एजेन्ट वा विघटनकारी भन्ने आरोप लगाइन्छ । समाजमा भएको वातावरण सिर्जना शासक बन्न खोज्नेहरूको आयु लामो हुँदैन । लोकतन्त्रको मूल आधार भनेको अभिव्यक्ति स्वतन्त्रता हो, तर सरकार जनताको स्वतन्त्रतालाई अपराधको रूपमा परिभाषित गर्दछ । प्रेसमाथिको नियन्त्रण, सामाजिक सञ्जालमाथिको निगरानी र आलोचकहरूलाई सताउने शैलीको शासनलाई निरंकुशताको पराकाष्ठा भन्दा अतिशयोक्ति हुने छैन ।
सरकारको सत्तालिप्साको अर्को उदाहरण संसद् अवरुद्ध गर्ने प्रवृत्तिमा देखिन्छ । आफूले चाहँदा विगतमा नौ–नौ महिना संसद् चल्न नदिने सरकार अहिले विपक्षमा बसेर सत्तारूढ गठबन्धनको संसद् अवरुद्ध गर्दा ‘लोकतन्त्र धरापमा प¥यो’ भनेर भाषण गरेको देख्दा उदेक लाग्छ । यस्ता शब्दहरू सुन्दा आफैंले गरेका पाप बिर्सेर प्रवचन दिने पाखण्डीको जस्तो देखिन्छ । लोकतन्त्रको मूल्य सरकारमा रहनेहरूलाई त्यसबेला मात्रै सम्झना हुन्छ जब उनी स्वयं अप्ठ्यारोमा पर्छन् । तर जब यि सत्तामा हुन्छन्, उही लोकतन्त्रलाई कुल्चिन यिन्लाई कुनै संकोच हुँदैन ।
ओली सरकार ईतिहासकै सबैभन्दा अलोकप्रिय, भ्रष्ट्राचारको जगमा उभिएको निंरकुशताको प्रतिरूप हो । यिनी पार्टी भित्र बीस वर्ष कसैले आँखा नलगाउनु भन्दै म नै राज्य हुँ भन्ने शैलीले अघि बढ्दैछन् । अहिले उनी पुनः एमालेको अध्यक्ष बन्ने योजनामा लागेका छन् । पार्टीको विधानको बेवास्ता गर्दै, उमेर सीमा मिच्दै, दुई कार्यकालको सर्त भत्काउँदै । यसले देखाउँछ, ओली नेतृत्वको लिप्सा यति गहिरो छ कि त्यो संविधानसम्म मिच्न पछि पर्दैनन् । पार्टीभित्रै अहिले असन्तोषको स्वरहरू उठ्न थालेका छन्, युवापुस्ता नेतृत्वको खोजीमा छन् र ओलीप्रतिको विश्वास घट्दो छ । तर ओली अझै पनि आफू बिना पार्टी अस्तित्वमै रहन सक्दैन भन्ने भ्रममा छन् । उनी विकास, राष्ट्रवाद र स्वाभिमानका नाममा जनतालाई झुक्याउने भाषिक कौशल प्रयोग गर्छन् । तर व्यवहारमा ती शब्दहरू केवल भ्रमका आवरणमात्र हुन् । उनी जसरी आफ्ना निकटका व्यापारी र चाकरीबाजहरूलाई अवसर दिन्छन् र आलोचकहरूलाई राष्ट्रघातीको लेवल लगाउँछन्, त्यसले उनले लोकतन्त्र होइन आफ्नो गुटतन्त्रलाई चलायमान राख्न खोजेको देखाउँछ । विद्या भण्डारीलाई पार्टी भित्र प्रवेश गर्न नपाइने कसरतमा यिनी लागेका छन् । यसका लागि विधान संशोधन गरेर हुन्छ कि वा सदस्य नवीकरण नगराउने खेलमा यिनका सहयोगीहरू लागेको देख्दा अब एमाले अवसानको बाटो लम्केछ भन्ने आँकलन गरिँदैछ ।
वर्तमान सरकारको कार्यकालमा भएका विवादित निर्णयहरू नागरिकता विधेयकको अन्धाधुन्ध प्रमाणीकरण, कोभिड महामारीमा औषधि तथा उपकरणमा देखिएको चरम भ्रष्ट्राचार, संवैधानिक आयोगहरूको दुरुपयोग, न्यायालयको अपमान, संसद् विघटन यी सबैले पुष्टि गर्छन् कि ओली सरकार सत्ताका लागि नैतिकता, कानुन र संस्थागत मर्यादा सबै मिच्न तयार छन् । यस्तो प्रवृत्ति रहेसम्म कुनै पनि लोकतान्त्रिक अभ्यास दीर्घकालीन टिकाउ बन्न सक्दैन ।
जहाँ केपी ओली जान्छन्, त्यहाँ विरोधको स्वर गुञ्जिन्छ । यो कुनै आकस्मिक घटना होइन । यो निरन्तरको चेतावनी हो । जनता अब मौन छैनन्, तर सरकार चाहिँ अझै सुनिरहेका छैनन् । यो प्रवृत्ति यति खतरनाक छ कि, यदि जनताले फेरि गल्ती दोहो¥याएर एमाले वा केपी ओलीलाई सत्तामा पु¥याए भने नेपालमा नयाँ निरंकुशताको युग सुरु हुने सम्भावना प्रवल छ । लोकतन्त्रलाई राजनीतिबाट हटाएर सत्ता केन्द्रित शासन ल्याउन चाहन्छन् । उनी राजनीतिक नेताबाट कम्पनीको मालिकमा रूपान्तरित भइसकेका छन् जहाँ सत्ता आफ्नो नाफाका लागि प्रयोग गरिन्छ ।
राजनीतिक संस्कार भनेको सत्ताको मोहमा अन्धो हुनु होइन । सत्ताको समय सकिएपछि सम्मानपूर्वक विदा लिने हो । विश्वका सफल नेताहरूले आलोचना स्वीकार गरेर नयाँ पुस्तालाई मार्ग प्रसस्त गरेका छन् । तर ओलीजस्ता नेताले सत्तालाई नै शक्ति, सम्पत्ति र सुरक्षा कवच सम्झन्छन् । यसकारण, अबको लडाइँ केवल चुनाव जित्ने होइन राजनीतिलाई शुद्ध गर्ने लडाइँ हो । जहाँ नेतृत्व जवाफदेही होस्, निष्ठावान् होस् र सर्वसाधारणको भावनाको प्रतिनिधित्व गर्ने होस् ।
निष्कर्षमा, वर्तमान सरकार वा केपी ओली अब केवल अलोकप्रिय नेता मात्र होइनन्, उनी संसद विघटन, प्रेसमाथिको आक्रमण र लोकतन्त्रको पतनका प्रतीक हुन् । उनका हरेक राजनीतिक पाइलाले जनतालाई लोकतन्त्रप्रति विरक्त बनाएको छ । तर यो निराशामा हराउने बेला होइन अब समय आएको छ कि जनता, युवापुस्ता र विवेकशील नेताहरू मिलेर ओलीवादको विकल्प खडा होउन । त्यो विकल्प यस्तो होस् जहाँ न सत्ता मुख्य होस्, न सत्ताको मोह; जहाँ सेवा, उत्तरदायित्व र न्यायपूर्ण शासन नै मुल आधार होस् । किनभने अब ओलीको सत्ता प्रेमले होइन, जनताको विवेकले देशलाई अगाडि लैजानुपर्छ । अब मात्र होइन, इतिहासले पनि ओलीलाई अस्वीकार गर्नेछ किनकि जब उनी फेरि फर्किए भने लोकतन्त्र बोल्न सक्ने क्षमता गुमाइसकेको हुनेछ । मिशन ८४ त्यसैको प्रतिक्षामा छ । अस्तु ।
