१. वर्तमानमा पद नखोज्ने ईमान्दार मान्छेहरु पनि छन् भन्दा विश्वसनीय लाग्दैनन् । काल्पनिक कथा जस्तो बुझिन्छ । लगनशील र विचारमा दृढ व्यक्तिसँगको भेट त दूर्लभ बन्दै गएको छ । नीजि स्वार्थका लागि सबैखाले हर्कतमा संलग्न हुनेहरुको भीडमा कुनै सतिसाल झैं ठिङ्घ उभिइरहने व्यक्तिको चर्चा चल्छ भने त्यो लाखौंमा एक हुन सक्छ । आफ्ना निजी कामहरु गराउनका लागि बिहानदेखि साँझसम्म तीनवटा पार्टीमा प्रवेश गर्नेहरुका लागि यस्ता व्यक्ति नौलो लाग्न सक्छ । बेलुका सुत्दा एउटा पार्टीको सदस्य बिहान उठ्दा अर्को पार्टीको पदाधिकारी भैसक्ने संस्कारको कडा प्रतिवाद गर्ने कोहि मान्छे भेटियो भने त्यो अनौठो बुझिन्छ । चर्चा र प्रसंग पनि ठूला पदमा रहनेहरुकै मात्र भेटिन्छ । मागे जति रकम तिरेर खरिद गरेका उपल्लो पदमा रहेर ठूला कुरा गर्नेहरुले भुईंमान्छेहरु नचिन्नुलाई अन्यथा मान्न पर्दैन । सबैले सबैलाई चिन्नै पर्दछ भन्ने पनि छैन । आआफ्ना अनुकूलमा हेर्ने र विचार राख्ने स्वतन्त्रता प्रत्येकमा हुन्छ नै । आचरण र व्यवहार नै व्यक्तिका पहिचान हुन भन्नेमा कसैको बिमति नहोला । यिनै चरित्र र प्रवृत्ति अंगालेका नीजि जीवनमा व्यक्तिगत स्वार्थबाट माथि उठेर पार्टी र समाजका लागि बाँच्ने बिरलै व्यक्तिमध्येका एक बलराम हुमागाईंमा यो आलेख केन्द्रित छ ।

२. सन्दर्भलाई मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका बलराम हुमागाईंसँग जोड्न खोजिएको हो । उनलाई राम्रैसँग जान्ने मान्छेहरु भेट्न मुस्किल रहेछ । मान्छे जिवित हुँदै समग्र मूल्यांकन हुँदैन पनि । यो सत्य हो, कसैको पनि राम्रा वा नराम्रा टिप्पणी गरिन्छ भने उस्को मृत्यु पश्चात नै हुन्छ । जिउँदैमा गरिने मूल्यांकन अधुरो नै हुन्छ भन्दा अत्युक्ति नहोला । मैले उनलाई नजिकबाट जानेको चालिसको दशक प्रारम्भबाटै हो । पञ्चायती शासनकालमा कम्युनिष्ट विचार बोकेर तत्कालिन नेकपा माले पार्टीको सिद्धान्त र आदर्श हुर्काउने काममा संलग्न हुनु भनेको खुकुरीको धारमा टेक्नु सरह नै थियो । पंचायती व्यवस्था र राजतन्त्रका बिरुद्धमा बोल्ने व्यक्ति भेटिएमा व थाहा भएमा तत्कालिन सरकारी संयन्त्रले मारी नै दिन्थ्यो वा जेलमा कोचिदिन्थ्यो । सरकारी तबरबाट सुराकीका लागि पंचायतका विश्वासिला मान्छेलाई तलब दिएरै तोकिएको हुन्थ्यो ।
नेकपा मालेले पंचायती व्यवस्था र राजतन्त्रको अन्त्य गरी जनवादी गणतन्त्र नेपालको स्थापनालाई राजनीतिक कार्यदिशा निर्धारण गरेको समयमा मकवानपुरमा सो आन्दोलन बोक्ने अत्यन्त जिम्मेवार र भरपर्दा व्यक्तिमा बलरामजी पर्नुहुन्छ । हालको जस्तो संचार सुविधा टेलिफोन र मोवाईल फोन थाहा नै थिएन । सानो चीटमा बैठक बस्ने स्थान र समय लेखेर अति गोप्य ढंगले पैदल नै हिँडेर तोकिएकै व्यक्तिको हातमा दिनका लागि हेटौँडा, मकवानपुरगढी, आमभञ्ज्याङ, सुकौरा, बुढीचौर, ठिंगन, छतिवन, हटिया, हर्नामाडीसम्म लुकेर, छिपेर, अरुले थाहा नपाउने गरी पुग्ने काममा बलरामजी नै अगाडि सर्नुहुन्थ्यो । राती हिँड्नुपर्दा टर्चलाईट बाल्न पनि घर छलेर वैकल्पिक बाटोबाट अनि कुकुर भुक्ने हुँदा धेरै जोगिएर अरुले थाहा नपाउन भनी अत्यन्तै सावधानी अपनाउनु पथ्र्यो । तोकिएको स्थानमा बैठक संचालन, पार्टीका निर्णयको जानकारी, जुलुश भेलाका तयारी, पार्टीका गतिविधिमा समिक्षा, सामन्त र पंचायती दलाललाई कार्बाहीका प्रक्रिया, आदिमा संलग्न हुनुपर्दा पहिले आफ्नो नाम टिपाउनेमा बलरामजी पर्नुहुन्थ्यो ।
३. तत्कालिन मक्रान्चुली गाउँ पंचायतको वडा नं. ५ को मक्रान्डाँडाको पूर्वी काखमा बलरामजीको घर पर्दछ । यसैको थाप्लोमा रामप्रसाद घिमिरेको घर थियो । बलरामजीको घरबाट नजिकै थोरै उत्तर तर्फ रोमबहादुर न्यौपानेको घर थियो । रोमजीको माहिंलादाइ हेटौंडा औद्योगिक क्षेत्रको साबुन उद्योगमा मजदूर हुनुहुन्थ्यो । यसै वडाको बाबियोडाँडामा हरि प्रसाद अधिकारीको घर छ । हरिदाइलाई पार्टीले नै उपप्रधान र पछि गाविसको अध्यक्ष बनायो । यसै पंचायतको वडा नं. ६ मक्रान्चुलीमा कृष्ण प्रसाद पोखरेल, वहाँको दाई द्धारिका प्रसाद पोखरेल, भाइ अच्यूत प्रसाद पोखरेलका घर छन् । नजिकै बद्रिप्रसाद लम्साल र तेजप्रसाद लम्सालको घर पनि त्यहीँ छ । तेजप्रसाद लम्साललाई यता गाउँमा मुरारी दाई भनेर भन्छौं र वहाँ पनि साबुन उद्योगकै मजदूर भएकाले त्यही बेलामै मजदूरहरुकै कमिटीमा जोडिनु भएको थियो ।
यसै वडाको पश्चिमी सीमा नजिक भानु स्कूलकै छेउमा भरत दुलालको घर थियो । भरत दाइ पनि पार्टीको सम्पर्कमा काम गरिरहनु भएको कुरा पछि थाहा भयो । म पनि यही गाउँकै बासिन्दा हुँ । अरु धेरै महत्वपूर्ण व्यक्तिहरुको नाम यस छोटो आलेखमा उल्लेख गर्न सम्भव नभएकोमा म गम्भीर र दुखित छु । त्यस्तै गाउँका हामी सबै युवाहरुका अभिभावक अग्रज बद्रिप्रसाद न्यौपानेको घर पनि यहीँ पर्दछ । पञ्चको आवरणमा रहेका बद्रि दाइ पञ्चायतलाई उपयोग गर्दै हाम्रा गतिविधिको जानकारी हुँदा पनि हामीलाई मायाका साथ सहयोग गर्नुहुन्थ्यो । पार्टीको संयोजनको भूमिकामा रहनु भएको बलरामजीको घर, रामप्रसाद घिमिरेको घर र रोम बहादुर न्यौपानेको घर नै त्यतिबेलाको सेल्टर भएकाले जिल्लाकै अभिभारा बोकेर र सचिव बनेर आउनुभएका कमरेडहरु विनोद घिमिरे (क. जयन्त), सूर्य शर्मा, लक्ष्मण थापा (क. बसन्त), काशीनाथ अधिकारी (क. रोशन), सूर्यचन्द्र न्यौपाने (क. विनोद) र देवी ज्ञवाली (क. शिशिर) को सम्पर्क र भेट्ने व्यक्तिमा रामप्रसाद घिमिरे र बलराम हुमागाईं नै पर्नुहुन्थ्यो । वहाँहरु मध्ये द्वारिका पोखरेल बितिसक्नु भएको छ भने विनोद घिमिरे पनि हुनुहुन्न ।
४. आर्थिक रुपले सक्षम भएर पनि बलरामजीले एसएलसी पछि बुर्जुवा शिक्षालाई निरन्तरता दिनुभएन । हाम्रो बैठक सधैं रातमा कहिले रामप्रसादकोमा, कहिले बलरामजीकोमा र कहिले रोमबहादुरजीकोमा बस्ने गर्दथ्यो । यी सबै बसाईमा बलरामजीले घर भित्र र बाहिर अझ गाँउघर समेतको सुक्ष्म निगरानी गर्दै विशेषगरी बाहिरबाट आउनुभएका कमरेडहरुको अति नै ख्याल गर्नुहुन्थ्यो । वहाँहरुको स्वास्थ्य, औषधी, पानी, खानेकुरा, पार्टी सामग्री, टर्चलाईट, कपडा, झोला, जुत्ता समेतको जतन र व्यवस्थापनमा बलरामजीको गहिरो सावधानी देखिन्थ्यो । प्रत्येकको मिहिन आलोचनासँगै अत्यन्त खुलेर पहिले आफ्नै आत्मालोचना गर्दै अरुलाई उत्प्रेरित गर्ने, प्रत्येक व्यक्ति र घटनाका सम्बन्धमा वस्तुपरक र यथार्थ समीक्षा गर्ने, अध्ययन सामग्रीका किताबहरु पार्टीको मुखपत्र वर्ग संघर्ष, पार्टीकै अन्य प्रकाशन सहित माक्र्स, एंगेल्स, लेनिन, माओ लगायतकाको जीवनी र वहाँहरुका हिन्दी तथा नेपालीमा अनुवादित कृतिहरु,, चिनियाँ प्रकाशनका नेपाली अनुवादहरु, युवाहरुको गीत, चिनियाँ कथामाला, राहुल साँकृत्यायनका किताबहरु, प्रश्रितका किताबहरु, प्रदीप नेपाल (संजय थापा) का किताबहरु आदिका निश्चित शिर्षकहरु पालैपालो पढेर सुनाउन लगाउने बलरामजी स्वयम् जाँगरिलो स्वभावको हुनुहुन्थ्यो । योजना बनाउने र भए गरेका पार्टी निर्णयको अक्षरशः कार्यान्वयनमा वहाँको दृढता हामी कहिल्यै बिर्सन सक्दैनौं । छरछिमेक र गाउँमा कसैलाई परेको अप्ठ्यारोमा आर्थिक सहयोगका लागि पहिले आफु अग्रसर बन्ने बलरामजीले आफ्नो निजी समस्या कहिल्यै व्यक्त गरेको थाहा भएन ।
५. किसान, मजदूरको जीवनमा आर्थिक, सामाजिक रुपान्तरण भएमात्र हाम्रो सिद्धान्त, विचार र व्यवहारले सार्थकता पाउँछ भन्ने विश्वासका साथ बलरामजीकै पहलमा चालिसको दशकको प्रारम्भमै मनकामना डेरीको सुरुवात भएको हो । सुरुमा रामशरण देवकोटाको घरको पिढीमा दूध जम्मा गरी क्यानमा भरेर चौघडासम्म बोकेर झार्ने गरेको यो डेरी आज उद्योगको पहिचानसहित मुलुकमै चर्चित हुनुमा बलरामजीकै सोच र लगनशीलताको परिणाम भन्दा अत्युक्ति नहोला । एकाध गाई भैंसी पालेर निर्वाहमुखी खेतीमा निर्भर मकवानपुरगढीका बासिन्दालाई व्यावसायिक पशुपालनका माध्यमबाट पाक्षिकरुपमा थोरै भए पनि नगद रुपैयाँ देख्ने स्थितिबाट विकास गर्दै, सिकाउँदै, शोषक सामन्तहरु हाम्रा शत्रु नै हुन् र भ्रष्टहरु जनताका पक्षमा कहिल्यै हुँदैनन् भन्दै गाउँमा तत्कालिन माले र हालको एमालेको संगठन विस्तार र विकासमा जुधिरहने बलरामजी उक्त डेरीको लगातार चार दशक वर्ष व्यवस्थापक बनी वरपर छिमेकी गाउँहरुमा समेत डेरी स्थापनाका लागि प्रोत्त्साहित गरेको तथ्य जगजाहेर छ ।
बिहान सबेरै घरबाट निस्केर बिहानदेखि साँझ अबेरसम्म डेरीमै बसेर काम गरिरहने बलरामजी घरमा एक छाक मात्र खाना खाने, काममा अल्छिपन कहिल्यै नदेखिने, आर्थिक कारोबारमा अत्यन्त पारदर्शिता भएको, आफूले पाउने पारिश्रमिक पनि कहिल्यै पूरा नबुझ्ने, अप्ठ्यारोमा परेकालाई के कति हो तत्कालै सहयोग गर्ने, गाउँघरमा कोहि बिरामी परेमा तत्काल अस्पताल लाने र पैसाले रोकिनु हुँदैन भन्ने बलरामजीले आफ्नो हकमा क्यान्सर जस्तो घातक रोग लाग्दा पनि बाहिर व्यक्त गर्नु भएन । आफ्नो समस्या पटक्कै नभन्ने सधैं मलाई ठीक छ, राम्रो छ भन्ने जवाफ दिने बलरामजी बित्नुभन्दा तीनदिन पहिले पनि मलाई ठीक छ भन्दा हाम्रा आँखा रसाएका थिए । बलरामजीले पार्टी र समाजलाई दिनुभएको स्मरणीय र उदाहरणीय योगदानलाई उच्च सम्मान गर्दै वहाँले नै स्थापना गरेको मनकामना डेरीको हलमा यहि २०८२ असार १० गते आयोजित जिल्ला कमिटिको आयोजना र गाउँ कमिटिको व्यवस्थापनको सभामा पार्टीका केन्द्रिय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र पोलिट्व्युरो सदस्य देवी ज्ञवालीसहित केन्द्रिय सदस्य रामेश्वर राना लगायत प्रदेश कमिटी, जिल्ला कमिटीको उल्लेख्य उपस्थितिमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरियो ।
६. अन्तमा, वडा पार्टीको गठनदेखि गाउँ कमिटी र क्षेत्रीय कमिटी अनि जिल्ला कमिटीसम्मको अधिवेशनहरुमा बलरामजीको उपस्थिति छुट्दैनथ्यो । कमिटीका जिम्मेवारीमा बस्ने बेलामा कहिल्यै मलाई यो वा त्यो पद मागेको रेकर्ड भएन । बलरामजीले पार्टीको सदस्य बनाएकाहरु उपल्ला कमिटीका अध्यक्ष र पदाधिकारी बन्दा वहाँ वडामै र गाउँमै सदस्य मात्रमा पनि रमाएर काम गर्नुभयो । यो पदीय लालसामा दौडनेहरुका लागि दरो उदाहरण मान्नु पर्दछ । कुनै पदमा प्रस्ताव गर्दा मलाई हैन, फलानोलाई बनाउने भन्दै सहयोग गर्न अग्रसर बन्ने बलरामजीलाई पछिल्लो चरणमा पार्टीले जिल्ला सल्लाहकार परिषद्को अध्यक्ष बनाएको थियो । बामदेव गौतमले पार्टी विभाजन गरेपश्चात बलरामजीले सबैलाई राखेर यो गलत भएको छ, विचलित नहुनुहोला भनेर सजग बनाउँदै दृढतापूर्वक मूलधारमा नै अडिग रहनु भयो । त्यसैगरी पछि माधव नेपालले पार्टी विभाजन गर्दापनि आफूलाई रत्तिपनि विचलित नबनाउने सच्चा पहरेदार बनी हतारमा ठूलो पदका लागि रातारात ओहोरदोहर गर्नेहरुप्रति कडा प्रतिवाद गर्नुहुन्थ्यो ।
पार्टीका पदहरु मात्र हैनन्, संसदीय क्षेत्रका कुनैपनि पदहरुले बलरामजीलाई आकर्षण गर्न सकेनन् । बलरामजीले पार्टी प्रवेश गराएकाहरु गाउँका वडा सदस्य, वडा अध्यक्ष, उपाध्यक्ष, अध्यक्ष, प्रदेशमा र संघीय संंसदमा समेत पुग्दा आफूले कहिल्यै पदका लागि मलाई यो वा त्यो पद नभए पार्टी नै छोड्छु भन्नेहरुलाई गतिलो खम्बा बनेर सजिलै सिफारिस गर्नुहुन्थ्यो । पार्टी र संसदीय क्षेत्रमात्र हैन, स्थानीयस्तरमा सहकारी, स्कूल, वन, आदिमा पदका लागि मरिहत्ते गरेर मलाई यो वा त्यो पदमा सिफारिस गर्नुप¥यो भन्दै बलरामजी गुहार्नेहरु यहाँ कम छैनन् । ती सबै आफू कतिवटा संस्थाहरुका के के पदमा छु भन्ने समेत जानकारी नभएकाहरुका लागि भिन्न उदाहरणका रुपमा बलरामजी, बारम्बार हामीले पद खोज्ने होइन, जरुरी पर्दा पदले नै हामीलाई खोज्दै आउँछ भन्दै कठोर परिश्रमी, लगनशील, ईमान्दार र पार्टीको सच्चा पहरेदार भएकै कारणले व्यक्तिबाट माथि एक उदाहरणीय चरित्र र प्रवृत्तिका रुपमा स्मरणीय बन्दै ६४ वर्षको उमेरमा २०८२ साल जेठ २६ गते यो दुनियाँबाट भौतिक रुपमा बिदा हुनुभयो । अल बिदा (बलरामजी ।











