Home मुख्य समाचार जीपीए ४ ल्याउने विद्यार्थीलाई नगद ८० हजार, बालजागृतिले मनायो खुसियाली

जीपीए ४ ल्याउने विद्यार्थीलाई नगद ८० हजार, बालजागृतिले मनायो खुसियाली

अनुप्रस्था देवकोटालाई विद्यालयको तर्फबाट ३५ हजार रुपैयाँ पुरस्कार रकम प्रदान गरिँदै ।

हेटौँडा : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक जना विद्यार्थीको ४ जीपीएसहित शतप्रतिशत नतीजा हासिल गरेको हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले सोमबार खुसियाली मनाएको छ । ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेको विद्यालयले एसईईमा उत्तीर्ण हुने सबै विद्यार्थीलाई अभिभावकको उपस्थितिमा सम्मान गरेको छ ।

विद्यार्थीलाई सम्मानपछि विद्यालयका संस्थापक, सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकको सहभागितामा र्‍याली निकालिएको थियो । विद्यालय परिसरबाट सुरु भएको खुसियाली र्‍याली हेटौँडा बजारको परिक्रमा गरी विद्यालयमै पुगेर समापन भएको थियो । ४ जीपीएसहित उत्तीर्ण हुने छात्रा अनुप्रस्था देवकोटालाई विद्यालयले नगद ३५ हजार रुपैयाँसहित पुरस्कृत गरेको छ । यस्तै विद्यालयका प्रिन्सीपल विनोद सुवेदी, सहायक प्रिन्सीपल अमूल श्रेष्ठ र विज्ञान विषय शिक्षक प्रेम हमालले १५/१५ हजारका दरले ४५ हजार नगद पुरस्कार प्रदान गर्नुभएको छ । देवकोटाले विद्यालयबाट कुल ८० हजार रुपैयाँ पुुरस्कार पाउनुभएको छ ।

बालजागृतिबाटै गत वर्ष पनि एक विद्यार्थीले ४ जीपीए प्राप्त गरेका थिए । बालजागृतिका विद्यार्थीले लगातार ४ जीपीए अंक हासिल गरेका छन् । गत वर्ष ४ जीपीए ल्याउने मकवानपुरको एक मात्र विद्यार्थी बालजागृतिकी रितिका छत्कुली थिइन् । उनले गत वर्ष विद्यालयको तर्फबाट नगद २५ हजार रुपैयाँ, तीनजना शिक्षकहरुबाट ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी थिइन् ।

Exit mobile version