हेटौँडा : चितवन जिल्लाकोे रत्ननगर नगरपालिका–६, डाङ्गेचोकमा जेसिबीको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । बिहीबार राती ११ बजेर १० मिनेटको समयमा चितवनस्थित भित्री सडकखण्डमा बछौलीबाट चित्रसारीतर्फ जाँदै गरेको बा ३ क ६८७ नम्बरको जेसिबीले चित्रसारीबाट बछौलीतर्फ जाँदै गरेको ना ३६ प ३०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
जेसिबीको ठक्करबाट मोटरसाइकल चालक रत्ननगर नगरपालिका–७ बस्ने ३५ को राजु चौधरी र पछाडि सवार ४० वर्षीय सन्तोष चौधरी घाइते भएका थिए । घाइते दुवै जनालाई स्थानीय बकुलहर अस्पताल टाँडीमा लगिएको थियो । सन्तोषलाई सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा सोमबार बिहान १ बजेर ३५ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जेसिबी चालक माडी नगरपालिका–४ का २१ वर्षीय आकाश मर्दनीयालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
