हेटौँडा : बागमती प्रदेशमा रोजगार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित बागमती रोजगार महोत्सव सम्पन्न भएको छ । शनिबार र आइतबार दुईदिन सञ्चालन गरिएको महोत्सवमा रोजगारदाता र रोजगारीको अवसरको खोजी गर्ने पक्षबीच भेटवार्ताको अवसर प्रदान गरिएको थियो ।
रोजगारदाताले स्टल राखेर आफ्ना लागि आवश्यक जनशक्तिको खोजी गर्ने र रोजगारीको खोजीमा रहेकाहरुका लागि रोजगारदाताको पहूँच स्थापित गर्ने उद्देश्यले आयोजित महोत्सवमा २ वटा बहस समेत आयोजना गरिएको थियो । यस्तै युवा तथा विद्यार्थीका लागि करिअर काउन्सिलिङ कक्षा समेत सञ्चालन गरिएको थियो । पहिलो दिन शनिबार ‘नेपालमा युवा बेरोजगारी : चुनौति र सम्भावना’ विषयक समूह छलफलको आयोजना गरिएको थियो भने दोस्रो दिन आइतबार ‘श्रममा युवा : प्रदेश सरकारको भूमिका’ विषयक बहस सम्पन्न भएको छ । हेटौँडा २ स्थित पाल्पा प्याराडाइजमा चलेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका छन् ।
बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आर्थिक सहयोग, हेटौंडा उपमहानगरपालिकाको प्रवद्र्धन, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश, मकवानपुर उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्स प्रालिको सहकार्यमा रोजगार महोत्सव भएको हो । आइतबारको बहसमा श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती, त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्राध्यापक डा. केशव बस्याल र महिला उद्यमी महासंघकी अध्यक्ष तथा हाइली प्रोस्पेक्टकी अध्यक्ष शोभा ज्ञवाली सहभागी हुनुहुन्थ्यो । बहसलाई मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौलागाईंले सहजीकरण गर्नुभएको थियो ।
छलफलमा युवा रोजगारीका अवसरहरू सिर्जना गर्न, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच बढाउन, स्वरोजगारलाई प्रोत्साहन गर्न र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न प्रदेश सरकारले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारेका थिए । सचिव भारतीले प्रदेश सरकारले युवाहरूका लागि उपयुक्त नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको र यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्राध्यापक बस्यालले शिक्षा र रोजगारीबीचको खाडल पुर्न आवश्यक रहेको र विश्वविद्यालयहरूले बजारको माग अनुसारको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको उद्घाटन समारोहमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको रहेको थियो भने बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन रहनु भएको थियो ।
