हेटौँडा : राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार मकवानपुरको मनहरी गाउँपालिकाबाट एक तिहाई विद्यार्थीमात्र उत्तीर्ण भएका छन् । गाउँपालिकाका ९ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयबाट एसईईमा सहभागी विद्यार्थीमध्ये ३३ दशमलव १ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण (ग्रेडेड) भएका हुन् ।
मनहरी गाउँपालिकाबाट परीक्षामा सहभागी भएका ४ सय २९ विद्यार्थीमध्ये एक सय ४२ जना उत्तीर्ण भएका छन् । २ सय ८७ जना विद्यार्थी उत्तीर्ण हुन सकेनन् । गाउँपालिकाले सार्वजनिक गरेको विद्यालयहरुको नतिजा विवरणअुनसार ३.६ देखि ४ जीपीएसम्म नतिजा ल्याउने विद्यार्थी ३ जना छन् । ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी २५ जना र जीपीए २.८ देखि ३.२ सम्म नतिजा ल्याउने विद्यार्थी ५० जना छन् । ५३ जना विद्यार्थीको नतिजा २.४ देखि २.८ जीपीए र ११ जना विद्यार्थीको नतिजा २ देखि २.४ जीपीएको बिचमा रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
मनहरीको राष्ट्रिय रोटरी माविबाट परीक्षा दिएका ४१.१८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट सबैभन्दा बढी ८५ जना विद्यार्थीले परीक्षा दिएकोमा ३५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । मनहरी–२ को सीता माविको नतिजा शून्य रहेको छ । विद्यालयबाट परीक्षा दिएका २० जना विद्यार्थी सबैको नतिजा अनुत्तीर्ण (एनजी) रहेको छ । सीता माविको नतीजा गत वर्ष पनि शून्य थियो । गत वर्ष पशुपति मावि र महेन्द्रज्योति माविको नतीजा पनि शून्य थियो ।
मनहरीकै महेन्द्रकिरण माविबाट परीक्षा दिएका ७२ जना विद्यार्थीमध्ये २२ जना उत्तीर्ण भएका छन् । बाल जीवनज्योति माविबाट परीक्षा दिएका ४० विद्यार्थीमध्ये १२ जना उत्तीर्ण भएका छन् । भोजसिद्ध माविबाट २८ जनाले परीक्षा दिएकोमा ४ जना उत्तीर्ण भएका छन् । यस्तै, महेन्द्रज्योति माविबाट २८ जनामा २ जना, पशुपतिनाथ माविबाट ३१ जनामा ४ जना र राष्ट्रिय मावि सुनाचुरीबाट ३९ जनामा १० जना विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिकाका संस्थागत विद्यालयमा युनाइटेड बोर्डिङ स्कूलबाट परीक्षा दिएका ४५ जना विद्यार्थीमध्ये ३७ जना उत्तीर्ण भएका छन् । ८–८ जना विद्यार्थी सहभागी गराएको मेरीगोल्ड टिनिटस बोर्डिङ स्कूल र युनिभर्सल लर्निङ एकेडेमीबाट क्रमशः ६ जना ५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
गत वर्षभन्दा सबै विद्यालयमा सुधार भएको उल्लेख गर्नुहुँदै मनहरी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख प्रदीप पराजुलीले गत वर्ष कमजोर नतीजा आएका विद्यालयका प्रधानाध्यापक परिवर्तन गरी सुधारको प्रयास भएको उल्लेख गर्नुभयो । पालिकाले शनिबार सामुदायिक विद्यालयका प्रधानाध्यापकको सहभागितामा एसईईको नतीजाको समीक्षा समेत गरेको शिक्षा शाखा प्रमुख पराजुलीले बताउनुभयो । आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक बसेर शैक्षिक गुणस्तर सुधारको योजना बनाइने बताइएको छ । शनिबारको समीक्षामा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको पनि उपस्थिति रहेको थियो ।











