सीप प्रतियोगितामा अटोमोवाइलतर्फ उत्कृष्ट प्रतियोगीलाई पुरस्कृत गरिँदै ।

हेटौँडा : बागमती प्रदेश उद्योग परिसंघको आयोजनामा दुई दिने सीप महोत्सव सम्पन्न भएको छ । शुक्रबार हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा समापन समारोह भएको हो । सीप महोत्सवमा प्रतियोगितात्मक सीप प्रदर्शनको समेत आयोजना गरिएको थियो ।

प्रतियोगितामा सूचना प्रबिधितर्फ काठमाडौंको बुढानिलकण्ठ माध्यमिक विद्यालयका विकास भण्डारी, अटोमोबाइल इन्जिनियरिङतर्फ काभ्रेको पनौती प्राविधिक शिक्षालयका धनबहादुर तामाङ र होटल म्यानेजमेन्टतर्फ चितवनको बछौली माध्यमिक विद्यालयकी विपिका थापा मगर प्रथम हुनुभयो । तीनै विधामा प्रथम हुनेलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

समापन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामाले उद्योग नभई रोजगारी सिर्जना नहुने बताउनुभयो । रोजगारीसँगै राम्रो आम्दानीका लागि सीप विकास गर्न जरुरी रहेको मुख्यमन्त्री तामाङको भनाई थियो । समापन समारोहमा उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको पनि आतिथ्य रहेको थियो ।