हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–५ मा अजिंगर भेटिएको छ । शुक्रबार बिहान स्थानीय नवराज उप्रेतीको घरमा भेटिएको अजिंगरको स्थानीयले उद्दार गरेर जंगलमा छाडिदिएको वडाध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
५ केजी ३ सय ग्राम वजन भएको करिब ५ फिट लामो अजिंगर बिहानै भेटिएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको रुपमा रहेको मनहरीमा वन्यजन्तुको उपस्थिति र वन्यजन्तुले मानव तथा बालीनालीमा क्षति पुर्याउने गरेको छ । एक महिनाअघि पनि १२ केजी तौल भएको एक अजिंगरलाई उद्दार गरी जंगलमा छाडिएको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।
अहिले राती ९ बजेदेखि नै जंगली हात्ती मानववस्तीतर्फ आउने गरेको र बालीनालीमा क्षति पुर्याउने गरेको वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । मनहरीमा हात्तीसँगै बाघको पनि उपस्थिति र आक्रमण भइरहने गरेको छ ।











