
हेटौँडा : सञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको प्रेस काउन्सिल नेपालका नवनियुक्त सदस्य नकुल अर्यालको उपस्थितिमा बिहीबार हेटौँडामा पत्रकार आचारसंहिताको सन्दर्भमा छलफल भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा मकवानपुरका सञ्चार माध्यम सञ्चालकको सहभागितामा छलफल भएको हो ।
छलफलमा मकवानपुरका सञ्चार माध्यम सञ्चालकको सुझावपछि काउन्सिलका नवनियुक्त सदस्य नकुल अर्यालले सञ्चारकर्मीले संयमित, जिम्मेवार भएर समाचार र विचार लेखन तथा सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय समाचार तथा विचार सम्प्रेषणको सन्दर्भमा कानूनी कारवाहीको नाममा न्यायालयले आदेश गर्दै गर्दा विगतमा प्रधानन्यायाधिशले नै आफ्नो विषयमा प्रकाशित समाचारप्रति असन्तुष्टी जनाउँदै प्रेस काउन्सिलमा उजुरी दर्ता गराउनुभएको नजीर रहेको बताउनुभयो । सञ्चार माध्यमले भुलु सुधार गर्न तत्परता देखाउनुपर्ने स्पष्ट पार्नुभयो ।
मकवानपुरका सञ्चार माध्यम सञ्चालकले पछिल्लो समय सञ्चार माध्यमहरु संस्थागत हुन नसकेको, आर्थिक मन्दीका कारण मिडिया मारमा परेको, विज्ञापन बोर्डले समानुपातिक विज्ञापन नीति लागू गर्न नसकेको उल्लेख गरेका थिए । लोककल्याणकारी सूचनाको दर लामो समयदेखि नपढेको विषयमा पनि सञ्चार माध्यम सञ्चालकले ध्यानाकर्षण भएको जनाएका छन् । छलफलमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, मकवानपुर जिल्ला शाखाका अध्यक्ष बालकृष्ण अधिकारीको पनि उपस्थिति रहेको थियो ।










