सीप महोत्सवको उद्घाटन समारोहका अतिथिहरु ।

हेटौँडा : बागमती प्रदेश उद्योग परिसंघको आयोजनामा हेटौँडामा सीप महोत्सव सुरु भएको छ । बिहीबार हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा सुरु भएको महोत्सव आज शुक्रबारसम्म चल्नेछ । बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलको अध्यक्षता तथा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव उदय बहादुर राना मगरको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सचिव उदय बहादुर राना मगरले कामलाई दुखको रुपमा बुझ्ने प्रवृत्ति गलत भएको बताउनुभयो । सीप विकास गरी उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाली श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई देशभित्रै रोजगारीको अवसर दिन नसक्दा हरेक दिन सयौंको संख्यामा जनशक्ति विदेशिन बाध्य भएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मोक्तानले हाम्रो समाजमा ज्ञानलाई शिक्षा भनियो, सीपलाई शिक्षा भनिएन जसका कारण सीपको अवमूल्यन हुँदा उद्यमशीलता विकास हुन नसकिरहेको जीकिर गर्नुभयो । उहाँले सीप विकासका कार्यक्रमहरु तीव्र गतिमा हुनुपर्ने बताउनुभयो ।

बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । प्राविधिक शिक्षालाई दोस्रो रोजाइको विषयको रुपमा हेरिएको उल्लेख गर्नुहुँदै अध्यक्ष पोखरेलले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकताको विषय बनाउने गरी काम गर्नुपर्ने जीकिर गर्नुभयो ।

सीप महोत्सवमा प्राविधिक शिक्षा पठनपाठन हुने शैक्षिक संस्थाका विद्यार्थीले आफ्नो सीप प्रदर्शन गर्नेछन् । उनीहरु बीच सीपको प्रतिस्पर्धात्मक प्रस्तुतीको कार्यक्रम समेत गरिएको छ । सूचना प्रविधि, अटोमोवाइल्स र होटल म्यानेजमेन्ट विषयमा सीप मेलामा सहभागी विद्यार्थीबीच प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । प्रतियोगिताको नतीजा आज शुक्रबार सार्वजनिक गरी पुरस्कृत गरिनेछ ।

सीप महोत्सवको उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयकी सचिव बिनु बज्राचार्य, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुषाल, बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषदकी प्रमुख कार्यकारी निर्देशक शान्ति लामा, बागमती प्रदेश उद्योग परिसंघका संस्थापक अध्यक्ष ऋषिराम घिमिरे, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रिनाथ शर्मा, मकवानपुर महिला उद्यमी, व्यवसायी समूहकी अध्यक्ष सुशीला पाण्डेको पनि आतिथ्य रहेको थियो ।

सीप महोत्सवमा प्रशिक्षार्थीहरुले आफ्नो सीप प्रस्तुत गर्दै गर्दा रोजगारदाताले समेत अवलोकन गरेका छन् । रोजगारदाताले प्रशिक्षार्थीहरुलाई रोजगारीको अवसरका लागि प्रस्ताव समेत गर्ने आयोजकको अपेक्षा छ । इन्स्योर परियोजना (हेल्भेटास नेपाल) को प्राविधिक सहयोगमा आयोजना भइरहेको यस कार्यक्रममा होटल एसोसिएसन नेपाल, नाडा अटोमोबाइल्स एसोसिएसन, प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटिइभिटी) लगायतका संस्थाहरूले सहयोग रहेको छ ।