हेटौँडा : भाउजूको हत्या गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक युवकलाई ३५ वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भाउजुको हत्यामा संलग्न हेटौँडा–१, चौकीटोलका २२ वर्षीय राहुल दासलाई ३५ वर्ष कैद सजाय गर्ने फैसला बिहीबार गरेको हो ।
राहुलले गत चैतमा सुतिरहेको अवस्थामा भाउजु गुडिया दासको हत्या गरेको अभियोगमा न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार उक्त फैसला सुनाइएको हो । जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशव कौशिकका अनुसार राहुललाई भाउजु गुडियाको हत्या र दाजु रुपेश दासको हत्या प्रसाय अभियोगमा दोषी ठहर गर्दै सो फेसला सुनाएको हो ।
अदालतले गुडियाको हत्या अभियोगमा २५ वर्ष र दाजु रुपेशको हत्या प्रयास अभियोगमा थप १० वर्ष कैद सजायको फैसला गरेको सूचना अधिकारी कौशिकले बताउनुभयो । अदालतले मृतक गुडिया दासको नजिकको हकदारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने र एक लाख रुपैयाँ जरिवाना गर्ने आदेश पनि दिएको छ भने घाइते दाजु रुपेश दासको उपचार खर्च पीडकले व्यहोर्नुपर्ने फैसला गरेको छ ।
लागूऔषध सेवन गर्ने गरेका राहुलले गत चैत १२ गते राती राहुलले कोठामा सुतेकी आफ्नी भाउजू गुडिया दासमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनापछि माहिला दाजु रुपेशमाथि पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । राहुललाई भाउजू गुडिया र दाजु रुपेशले पटक–पटक सम्झाउँदै लागुऔषध छोड्न आग्रह गर्दै आएका थिए । उक्त विषयमा चिढिएर राहुलले भाउजु गुडियालाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए भने दाजु रुपेशको हत्या प्रयास गरेका थिए । घटना लगत्तै पक्राउ परेका राहुल पुर्पक्षका लागि भीमफेदी कारागारमा छन् ।











