Home मुख्य समाचार लागूऔषध खैरो हेरोइनसहित बकैयाका बस्नेत पक्राउ

लागूऔषध खैरो हेरोइनसहित बकैयाका बस्नेत पक्राउ

बरामद भएको लागूऔषधसहित पक्राउ परेका अमोद बस्नेत ।

हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित मकवानपुरको बकैया गाउँपालिका–४, जुरेलीका ४० वर्षीय अमोद बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजेको समयमा बकैया–४, जुरेली बजारस्थित बस्नेतले सञ्चालन गर्दै आएको बकैया ईन्टरप्राईजेजमा लागूऔषध विक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार जानकारी गराएको छ ।

प्रहरीले बस्नेतको पसलमा छापा मार्दा वियरको काटुनभित्र डिजिटल तराजु १ थान र प्लाष्टिकले बेरिएको अवस्थामा सानो–सानो २७ वटा पुरियामा १ ग्राम ७४० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा बस्नेतलाई ५ दिन हिरासतमै राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

बुधबार नै मकवानपुर प्रहरीले हेटौँडाबाट १९ वर्षीय एक किशोरलाई प्रतिबन्धित लागूऔषध खैरो हिरोइन १६ ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरेको छ । लागूऔषध खैरो हेरोइन प्रयोगकर्ता तथा व्यापारीको रुपमा सक्रिय रहेका हेटौँडा–१२ का १९ वर्षीय प्रितम बललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार बिहान ३ बजेर १५ मिनेटको समयमा हेटौँडा–१०, बसपार्कमा लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलाई नियन्त्रणमा लिएको जनाएको छ । बललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट लागूऔषध कसुरमा ३ दिनको म्याद अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version