हेटौँडा : मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–६ को विभिन्न स्थानमा निर्माण सम्पन्न भएका पाँच पूर्वाधार परियोजनाको बिहीबार उद्घाटन गरिएको छ । रमौली प्रतापपुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १ किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लबको बिहीबार बिहान उद्घाटन गरिएको हो ।
५ वटै योजनाको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभएको हो । नेता बानियाँले मनहरी गाउँपालिकाको ६ नम्बर वडा अरु वडाभन्दा भौगोलिक दृष्टिले ठूलो र दुर्गम रहेको बताउनुहुँदै यस वडामा प्रदेश र स्थानीय तहको समन्वयमा विगतदेखि नै विभिन्न विकास निर्माणका योजना सञ्चालन हुँदै आएको बताउनुभयो । व्यक्तिको आस्था जुनसुकै पार्टीमा रहनसक्ने भएकाले जनप्रतिनिधिले जनता र गाउँको विकासमा राजनीति गर्न नहुने उहाँले बताउनुभयो ।
नेता बानियाँले चितवन राष्ट्रिय निकुञ्जबाट मनहरीका स्थानीय जनताको विकासमा आएका अवरोधहरुलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर समाधान गर्दै तटबन्ध, बाटो र अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्नुहुँदै वडा, पालिका र प्रदेश सरकारको समन्वयमा स्थानीय जनतालाई रोजगारी तथा आयआर्जनमा जोड्ने योजनामा जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।
बागमती प्रदेश, मनहरी गाउँपालिका र वडाबाट विनियोजित बजेटद्वारा निर्मित पूर्वाधारको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष युवराज थपलियाको सभाध्यक्षता तथा नेता बानियाँको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी–७ का वडा अध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
