हेटौँडा: मकवानपुरको हेटौँडा उपमहानगरपालिका बुधबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । यससँगै जिल्लाका दशवटै पालिका पूर्ण खोप सुनिश्चित भएका छन् । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलानाथ चौंलागाईका अनुसार, पालिकामा २२ वटा स्वास्थ्य संस्था रहेका छन् । ९१ जना तालिमप्राप्त स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरिएका छन् भने ९१ वटा आमा समूहहरूबाट सूचना प्रवाहको काम भइरहेको छ ।
चौंलागाईका अनुसार तालिमप्राप्त स्वास्थ्य स्वयंसेविकाहरूले ४३ ठाउँमा नियमित खोप सञ्चालन गर्दै आएका छन् । घरधुरी सर्वेक्षण गरी १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाहरूलाई योजनाबद्ध रूपमा पूर्ण खोप सुनिश्चित गर्न काम भइरहेको उहाँले बताउनुभयो । मासिक ६६ पटक खोप सञ्चालन हुने गरेको छ ।
पूर्णखोप सुनिश्चितता पालिका घोषणाका लागि गरिएको घरधुरी सर्वेक्षणमा ७३ जना बालबालिकाहरूलाई आंशिक खोप लगाइएको, २४२६ जना खोप लगाउने क्रम जारी रहेको र एकजनाले कुनै किसिमको खोप नलगाएको पाइएको उहाँले जानकारी दिनुभयो । पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न मासिक, अर्धवार्षिक र वार्षिक रूपमा खोपसम्बन्धी समीक्षा गर्दै, नियमित खोप सञ्चालन गर्दै आएको उहाँको भनाई छ । घरधुरी सर्वेक्षण, तथ्याङ्क सङ्कलन, वडा पूर्णखोप सुनिश्चितता घोषणा र त्यसको समीक्षा गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न ५ लाख ६९ हजार रुपैयाँ बजेट उपलब्ध भएको चौंलागाईले जानकारी दिनुभयो ।
पूर्णखोप सुनिश्चित पालिका घोषणा भइसकेपछि यसको दिगोपनाका लागि मासिक फाइल अध्ययन गरिनेछ । छुटेका बालबालिकाको वैशाख महिनाभित्र पूर्ण खोप सुनिश्चित गरिनेछ । वडाको तथ्याङ्कलाई पालिकाले प्रमाणीकरणका लागि जाँच गर्नेछ र पालिकाको तथ्याङ्क प्रमाणीकरण भए/नभएको जिल्लाले क्रस जाँच गरी प्रमाणीकरण गर्नेछ । दिगोपनाका लागि योजनाबद्ध रूपमा काम गरिने चौंलागाईले बताउनुभयो । उहाँका अनुसार, जिल्ला पूर्णखोप सुनिश्चित हुने क्रममा रहेको र घोषणा भइसकेपछि पहिलो पटक बागमती प्रदेशलाई पुनः पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारीमा रहेको छ ।
