Home मुख्य समाचार कमजोर विपद् व्यवस्थापन

कमजोर विपद् व्यवस्थापन

विश्व मानचित्रमा नेपाल उष्ण मौसमी हावापानीको क्षेत्रमा पर्दछ । तर, धरातलीय स्वरुपका आधारमा निकै विविधता भएका कारण नेपालको हावापानी सबैतिर एकैनाशको छैन । यहाँको हावापानीमा निकै विविधता पाइन्छ । मौसम पनि छिटै परिवर्तन भइरहन्छ । नेपालमा जाडो, गर्मी तथा वर्षा सबै मौसममा विभिन्न प्राकृतिक प्रकोपका घटना हुने गरेका छन् । यस्ता प्रकोपका कारण निम्तने विपद्ले नेपालीहरु पीडित तथा प्रभावित बनिरहेका हुन्छन् । भिन्न भौगोलिक वनावटका कारण विपद्जन्य घटनाबाट देशको कुनै न कुनै क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको पाइन्छ । देशको मध्य भागमा रहेको बागमती प्रदेश पनि सबै प्रकारका विपद्को जोखिममा छ । विभिन्न प्रकोपको पूर्वानुमान, जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसबाट हुने जोखिम न्यूनीकरण, जोखिमपछिको राहत, पुनस्थापना, पुननिर्माणजस्ता कार्यको लागि पर्याप्त स्रोत साधनसहितको पूर्वतयारीमा भने तीनै तहको सरकार प्रभावकारी देखिएको छैन ।

वर्षायाममा तराईमा बाढी र डुबान तथा पहाडमा बाढी र पहिरोको खतरा रहन्छ । यसले सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन, सिंचाइजस्ता पूर्वाधारमा पनि धेरै क्षति पुग्ने गरेको छ । मनसुनी प्रकोपले कृषि उत्पादनमा पनि ठूलो क्षति भइरहेको छ । हिउँदमा तराईका जिल्लामा शीतलहरले निकै सताउँछ भने हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित हुन्छ । गर्मीयाममा पनि हावाहुरी, लु, विभिन्नखाले रोगका प्रकोप, खडेरी आदिले सताउने गरेको छ । यही समयमा वन डढेलोको प्रकोप उस्तै भयावह बन्ने गरेको छ । चट्याङ र आगलागीका कारण पनि वर्षेनि धेरै धनजनको क्षति हुने गरेको छ । भूकम्पीय दृष्टिकोणबाट पनि नेपाल अति जोखिमयुक्त देशमा पर्दछ । जलवायु परिवर्तनका कारण थप विपद् र जोखिमको सामना गर्नुपर्ने परिस्थिति बनिरहेको छ ।

प्राकृतिक प्रकोप र त्यसबाट सिर्जना हुने विपद्लाई पूर्णरुपमा रोक्न सकिँदैन । तर, यसको न्यूनीकरण गर्दै यसबाट हुने क्षति कम गर्न पक्कै सकिन्छ । सरकारको पर्याप्त ध्यान पुग्ने र आम नागरिक सचेत हुन सकेमा विपद्बाट हुने क्षति कम गर्न सकिने भए पनि यसतर्फ तीनै तहको सरकार उदासिन बन्ने गरेको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको भनिए पनि ठोस कार्ययोजना र पर्याप्त बजेट विनियोजन भएको पाइँदैन । प्रदेश सरकारले ल्याएको ६७ अर्बभन्दा बढीको बजेटमा विपद् व्यवस्थापनका लागि बनाइको कोषमा १० करोड रुपैयाँमात्र विनियोजन गरिएको छ । गत असोज १२ गतेको वर्षाले अरबौं रुपैयाँको भौतिक पूर्वाधारमा क्षति पुगेको भए पनि प्रदेश सरकारले अत्यन्तै न्यून बजेट विनियोजन गरेर विपद् व्यवस्थापनमा चासो नदिएको पुष्टि गरेको छ ।

अधिकांश विपद्का घटना अप्रत्याशित हुन्छन् । विपद् व्यवस्थापनमा पूर्वतयारी र योजनासहित विपद्को समय र त्यसपछि गरिने प्रभावकारी कामले ठूलो महत्व राख्दछ । विपद्पछि उद्दार र तत्कालीन राहतमा सक्रिय हुने सरकारी निकायहरु अन्य समयमा निष्क्रियजस्तै बन्ने गरेका छन् । विपद्बाट आफ्ना नागरिकलाई सुरक्षित राख्न आवश्यक संरचनासहित सरकारले प्रभावकारी योजना र पूर्वतयारी गर्न नसक्दा वर्षेनि ठूलो क्षति हुने गरेको छ । बागमती प्रदेश सरकारले विपद् पूर्वसूचना प्रणालीको जडान, सूचना प्रसारण, सचेतनाका साथै सुरक्षाकर्मी र स्वयम्सेवकको क्षमता विकासका लागि विशेष योजना बनाएको भने पनि विगतमा देखिएको कमजोर विपद् व्यवस्थापनले भविष्यप्रति विश्वस्त हुन सक्ने अवस्था देखिँदैन ।

Exit mobile version