Home मुख्य समाचार राष्ट्रिय कविता प्रतियोगितामा, उत्कृष्ट १० मा मकवानपुरका किशन र रमा

राष्ट्रिय कविता प्रतियोगितामा, उत्कृष्ट १० मा मकवानपुरका किशन र रमा

उत्कृष्ट १० कविता छनोटपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा: नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०८२ मा मकवानपुरका २ जना उत्कृष्ट भएका छन् । सोमबार प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको कविता वाचनमा प्रतियोगितामा मकवानपुरका किशन पौडेल र रमा सुवेदी (मिरमा) उत्कृष्ट हुनुभएको हो ।

प्रतिष्ठानले सबै किसिमका भाषामा कविता लेख्ने २५ जना साहित्यकारलाई कविता वाचनका लागि छनोट गरेको थियो । छनोटको चरणमा मकवानपुरका किशन र रमासँगै, सिरहाका अविनाश भट्टराई, मोरङका कर्ण संजय, लमजुङकी गोमा श्रेष्ठ, नवलपरासीका चन्द्रमणि चापागाई, रुकुम पश्चिमका तुलसी केसी, सुनसरीकी शमूएल कोइराला विश्वकर्मा, ललितपुरकी सन्ध्या महर्जन र चितवनका सिर्जन अविरल चयन हुनु भएको छ । उत्कृष्ट सबैलाई नगद ४० हजार रुपैयाँसहित राष्ट्रपतिबाट सम्मान प्रदान गरिने कवि किशनले जानकारी दिनुभयो ।

मकवानपुरका किशन पौडेलका गजल संग्रह ‘कहर’ २०७७, लघुकथा संग्रह ‘खुसी’ २०७९, ‘अन्तर्दृष्टि’ हिन्दी भाषामा २०८०, मुक्तक संग्रह अन्तध्र्वनि’ २०८१, कविता संग्रह अन्तर आलाप २०८२, संयुक्त विश्व लघुकथा संग्रह बाङ्ला भाषा र संयुक्त गजल संग्रह हैसियत/महफिल ए गजल कृति प्रकाशन गर्नु भएको छ ।

उहाँले हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित ५१ औँ विश्व वातावरण दिवस–२०८० मा पर्या–कवितामा द्वितीय पुरस्कार, विश्व नेपाली साहित्य महासंघद्वारा आयोजित नवौँ वातावरण साहित्य गोष्ठीमा कवितामा प्रथम पुरस्कार २०८१, रत्ननगर वाङ्मय प्रतिष्ठान चितवनद्वारा आयोजित राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा द्वितीय पुरस्कार २०८१, साहित्य सङ्गम मकवानपुरबाट रामहरि देबु सम्मान २०८०, क्रान्तिधरा मेरठ साहित्य साधक सम्मान २०२२, मेरठ, भारत मिन्नी कहानी लेखक मञ्च अमृतसर, पन्जाबबाट लघुकथा रत्न सम्मान २०२४ र लघुकथा समाजबाट बाटुली–खिलध्वज लघुकथा सम्मान २०८१ प्राप्त गर्नुभएको छ । उहाँ साहित्य, सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । उहाँ लघुकथा चौतारी मकवानपुर संयोजक, मातृभूमि साहित्य समाजका कार्यसमिति सदस्य, मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष रहनुभएको छ ।

उत्कृष्ट १० मा पर्न सफल मकवानपुरकी रमा सुवेदी कथा, कवितामा प्रस्तुत हुनुहुन्छ । सुवेदी बाह्रखरीको कथा लेखन प्रतियोगितामा लगातार २ वर्ष छनोट भई बाह्रखरीको कथासंग्रहमा कथा समावेश गर्न सफल हुनुभएको छ ।

Exit mobile version