हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यो बजेट चालु आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो ।
राक्सिराङले चालु आर्थिक वर्ष २०८१/०८२ मा ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । राक्सिराङको मंगलबार बसेको गाउँसभामा उपाध्यक्ष वनस्तम थिङले पेस गर्नुभएको बजेटमा चालु तथा पूँजीगत खर्च समेट्दै संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतमार्फत जुटाइने आम्दानीको विवरणसहित बजेट सार्वजनिक गर्नुभएको हो । राक्सिराङले आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ ।
राक्सिराङ गाउँपालिकाले बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट प्राप्त अनुदान ४३ करोड ८९ लाख ७८ हजार रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान १० करोड ५८ लाख २२ हजार रुपैयाँ, आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ रहेको छ । राक्सिराङको आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चमा वृद्धि गरिएको देखिन्छ भने चालु खर्चको तुलनामा पूँजीगत खर्च घटाइएको छ । संघीय र प्रदेश सरकारको अनुदानमा समेत वृद्धि भएको छ ।
