Home अर्थ/व्यापार कैलाश गाउँपालिकाको बजेट ५३ करोड ८६ लाख

कैलाश गाउँपालिकाको बजेट ५३ करोड ८६ लाख

बजेट प्रस्तुत गर्नुअघि बजेट समावेश गरिएको सुटकेस प्रदर्शन गर्नुहुँदै गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तान र उपाध्यक्ष बालकुमार मल्ल ।

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५३ करोड ८६ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । मंगलबार गाउँपालिकाको सभाहलमा भएको १६ औं गाउँसभामा कुल ५३ करोड ८६ लाख २० हजारको बजेट प्रस्तुत गरिएको हो । कैलाश गाउँपालिकाले चालुतर्फ ३२ करोड ८२ लाख ३ हजार रुपैयाँ (६०.९ प्रतिशत) र पूँजीगततर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ (३९.१ प्रतिशत) बजेट ल्याएको छ ।

विकट कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा ५ करोड बजेट बढाएर ल्याएको हो । चालु आर्थिक वर्षका लागि ४८ करोड ७८ लाख रुपैयाँ बजेट रहेको थियो । आगामी आर्थिक वर्षका लागि पूँजीगत बजेट ६ करोड भन्दा बढी बढेको छ भने चालु खर्चतर्फ पनि १ करोड बढी बजेट बढाएर ल्याएको हो । जसमा आर्थिक विकासतर्फ २ करोड ७७ लाख ६४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ चालु र पूँजीगत दुवैगरी २३ करोड ४९ लाख ६४ हजार, पूर्वाधार विकासतर्फ पूँजीगत खर्च १६ करोड ४४ लाख बजेट विनियोजन भएको छ । यस्तै, वातावरण तथा विपद्ततर्फ ४३ लाख पूँजीगत बजेट, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ चालु र पूँजीगत दुबै गरी ९२ लाख ९२ हजार १ सय रुपैयाँ र गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ९ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताइएको छ ।

गाउँपालिकाले आफ्नो पालिकामा बसोबास गर्ने सीमान्तकृत, अपाङ्गता भएका तथा सहिद परिवारका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउनका लागि बजेट विनियोजन गरेको छ । प्रयेक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको अनिवार्य र निशूल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशूल्क पाउने संवैधानिक हकको सूनिश्चितता गर्दै विद्यालयबाट वञ्चित बालबालिकाको शिक्षाका लागि बजेट विनियोजन गरिएको कैलाश गाउँपालिकाकाले जनाएको छ ।

यस्तै, गाउँपालिकाभित्रका सहकारी संस्थालाई नेपाल सरकारको प्रणालीमा आवद्ध गरी संगठात्मक विकास गर्न सहकारी क्षेत्रमा बजेट विनियोजन गरेको छ भने विपद् व्यवस्थापनको क्षेत्रमा कुल बजेटको ४३ लाख रुपैयाँ छ्ट्याएको बताइएको छ । बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियानको रुपमा विगतका आर्थिक वर्षदेखि सुरुवात गरेको चेली प्रोत्साहन कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिनका लागि बजेट विनियोजन गरेको छ भने चेपाङ समुदायको साँस्कृतिक, सामाजिक र ऐतिहासिक विशेषतालाई सम्मान गर्दै चेपाङ संरक्षित क्षेत्रको रुपमा विकास गरिने यस गाउँपालिकाले नीति लिएको छ ।

‘हिंसामुक्त गाउँपालिका हाम्रो पहिचान’ अभियान सञ्चालन गरी सबै प्रकारका हिंसा विरुद्ध शून्य सहनशीलता नीति लिइने बताइएको छ भने अति विपन्न, सीमान्तकृत र अल्पसंख्यक महिलाहरुलाई विशेष प्राथमिकता दिँदै ग्रामीण महिलाहरुको सीप, क्षमता र दक्षता विकास गर्न ग्रामीण महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

Exit mobile version