नेपालमा धेरै प्रकारका घोषणा हुने गरेको छ । देशी विदेशी सबै निकायको प्रयोगशालाजस्तै बनिरहेको मुलुकमा अन्त्य भएको, मुक्त भएको, उन्मुलन भएको, सुनिश्चित भएको भन्दै अनेकन् घोषणा भइरहन्छन् । सरकारी स्तरबाटै निकै महत्व दिएर थुप्रै क्रियाकलाप गरेर गरिएका अधिकांश घोषणा घोषणामै सीमित बन्ने गरेको थुप्रै उदाहरण छन् । विसं १८७७ मा सतिप्रथा मुक्त गरेर सुरु भएको घोषणाको लहर दासप्रथा मुक्त हुँदै विफर उन्मुलनको घोषणा भयो । कमैया, छुवाछुत, हलिया, कमलरीजस्ता सामाजिक विभेद अन्त्यको घोषणा भएका छन् । पोलियो, कुष्ठरोग, बर्डफ्लु रोगदेखि बारुदी सुरुङमुक्तको घोषणा गरिएका छन् । पछिल्ला वर्षहरुमा खुला दिशामुक्त, पूर्ण सरसफाइयुक्त, बालविवाहमुक्त, बालश्रममुक्त, बालमैत्री शासनयुक्त जस्ता धेरै घोषणा देशव्यापी भएका छन् । सडकबाट सहयोगापेक्षी मानव मुक्त गर्ने, स्वास्थ्य संस्थामै प्रसुति सुनिश्चत गर्नेजस्ता घोषणाको तयारी पनि भइरहेको छ ।
अहिले मकवानपुर जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणाको तयारी भइरहेको छ । जिल्लाका ९ वटा पालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा भएर आगामी असार ११ गते हेटौँडा उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिने भएको छ । पछिल्लो दुई साताभित्र जिल्लाका ९ वटा पालिका पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । जेठ २६ मा भीमफेदी, जेठ २८ मा बकैया, जेठ २८ मा बागमती र जेठ ३० मा कैलाश गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा भएका हुन् । यस्तै, असार ३ गते थाहा नगरपालिका, ४ गते इन्द्रसरोवर र राक्सिराङ गाउँपालिका एवम् असार ५ गते मनहरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । हेटौँडा उपमहानगरपालिका पूर्णखोप सुनिश्चित घोषणा भएपछि जिल्ला घोषणा हुनेछ । जिल्ला घोषणाका लागि जिल्ला खोप समन्वय समितिबाट प्रदेशको खोप समन्वय समितिलाई प्रमाणीकरणका लागि सिफारिस गरिएको छ । प्रमाणीकरण भएपश्चात् जिल्ला पूर्णखोप सुनिश्चित घोषणा हुनेछ ।
विभिन्न संक्रामक र अन्य रोग नियन्त्रणका लागि खोपको प्रयोग महत्वपूर्ण हुन्छ । खोपले निश्चित रोगहरु लाग्नबाट सुरक्षा प्रदान गर्दछ । खोपकै माध्यमबाट विफर जस्तो डरलाग्दो रोगलाई हटाइएको छ भने पोलियो रोगसमेत करिब अन्त्य भइसकेको छ । विसं २०३४ सालमा विफर उन्मुलन घोषणापछि नेपालमा एक वर्षमुनिका बालबालिकालाई बिसीजी र डिपीटी खोप लगाउन थालिएको हो । २०४५ सालदेखि क्षयरोग, भ्यागुतेरोग, धनुष्टंकार, लहरेखोकी, पोलियो र दादुराविरुद्धका खोप सेवा देशभर लागू भयो । २०६० मा हेपाटाइटिस बी, २०६४ मा जापनिज इन्सेफ्लाइटिस र २०६६ मा हेमोफिलस इन्फ्ल्यूएञ्जा बी खोप सुरुवात गरियो । २०६९ सालमा रुवेला खोप र २०७१ सालमा पिसीभी गरी ११ वटा रोग विरुद्ध खोप प्रदान सेवा प्रदान गरिँदै आएको छ । लक्षितमध्ये ९० प्रतिशतभन्दा बढीले खोपको मात्रा पूरा गरेका छन् ।
पूर्णखोप सुनिश्चित घोषणाकै लागि सरकारले एक दशकअघि पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ जारी गरी विभिन्न कार्य गर्दै आएको थियो । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएको सुनिश्चित भएपछि यस्तो घोषणा गरिन्छ । २०७५ भदौमा गण्डकी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिए पनि अहिले धमाधम उक्त प्रदेशका जिल्लाहरुलाई पूर्णखोप सुनिश्चित घोषणा गरिँदैछ । मधेश, लुम्बिनी प्रदेश गत वर्ष पूर्णखोप सुनिश्चित घोषणा भइसकेका छन् । नेपालमा सरकारले राष्ट्रिय आवश्यकता भन्दा पनि अन्तर्राष्ट्रिय समुदायको रुचि र कार्यक्रमअनुसार यस्ता घोषणा गर्ने गरेको छ, जसको निरन्तरतास्वरुप फेरि पूर्णखोप सुनिश्चित घोषणाको तयारी भइरहेको छ । कागजीरुपमा निर्धारित मापदण्ड पूरा गराएर हुने यस्ता घोषणापछिको निरन्तरता र दिगोपनाका सबालमा सरकार उदासिन बन्ने गरेका कारण घोषणाले सार्थकता पाउन सकेको छैन ।











