हेटौँडा : थाहा नगर व्याड्मिन्टन संघको आयोजनामा मकवानपुरको थाहा नगरपालिकामा आइतबार सम्पन्न छैठौं संस्करणको उपमेयर कप नगरस्तरीय व्याड्मिन्टन प्रतियोगिताको उपाधिका मधुसुदन चौधरी र रोशन गोपालीको जोडीले जितेको छ । फाइनल खेलमा नरेन्द्र मोक्तान र देव अर्यालको जोडीलाई २४–२२ र २१–१८ को सोझो सेटमा पराजित गर्दै मधुसुदन र रोशनको जोडीले उपाधि जितेको हो ।
प्रतियोगिताको उपाधि विजेता मधुसुदन र रोशनको जोडीले नगद २० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको नरेन्द्र र देवको जोडीले १२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । सेमीफाइनलमा पराजित हुने इशक केसी र नरेन्द्र लामाको जोडी र सुनिल विष्ट र नवीन रायमाझीको जोडीले ६ हजार ५ सय नगद प्राप्त गरेको छ ।

थाहा नगरपालिका–४, क्याम्पाडाँडास्थित कभर्ड हलमा आइतबार बिहान सम्पन्न सेमीफाइनल खेलमा नरेन्द्र र देवको जोडीले इशक केसी र नरेन्द्र लामाको जोडीलाई २१–१५ र २१–१२ को सोझो सेटमा सहजै पराजित गरेर फाइनल प्रवेश गरेको थियो । यता मधुसुदन र रोशनको जोडीले सुनिल विष्ट र नवीन रायमाझीको जोडीलाई २१–१८ र २१–१४ ले सोझो सेटमा पराजित गरेर फाइनल प्रवेश गरेको थियो । शनिबारबाट सुरु भएको प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो ।
उपाधि विजेता, उपविजेतालाई थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले पुरस्कार वितरण गर्नुभएको थियो ।