हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा रहेको महेन्द्र माध्यमिक विद्यालयको कप्तानमा कुशल गोले चयन हुनुभएको छ । शुक्रबार भएको निर्वाचनबाट विद्यालयको उपकप्तानमा सुशान्त वाइबा र मेनुका गोले चयन हुनुभएको विद्यालयकी प्रधानध्यापक देवकी सिग्देलले जानकारी दिनुभयो ।
कुशल र सुशान्तले आफ्ना २ जना प्रतिद्वन्द्वीलाई पराजित गर्दै कप्तान र उपकप्तान चयन हुनुभएको थियो । यस्तै विद्यालयको महासचिवमा रितिका लामिछाने र प्रितम थापा सर्वसम्मत चयन हुनुभएको छ । सदस्यमा उमा हटुवाल र स्मृति दहाल निर्वाचन प्रक्रियाबाट चयन हुनुभएको छ । समितिको नाम महेन्द्र विद्यार्थी कल्याण समिति राखिएको छ । निर्वाचन सामाजिक विषय अन्तर्गत रहेर, विद्यार्थीको नेतृत्व क्षमता वृद्धि गराउने, मतदान प्रक्रियाबारे जनाकारी गराउँनेलगायतका उद्देश्यले गरिएको प्रधानाध्यापक सिग्देलले जानकारी दिनुभयो । विद्यालयले यस वर्ष पहिलो पटक निर्वाचन कार्यक्रम संचालन गर्नुका साथै कप्तान र उपकप्तान पनि पहिलो पटक नै चयन गरेको हो ।
समितिका सबै मिलेर अनुशासन, हरियाली वातावरण, विद्यार्थीको समस्या पहिचान गर्ने र विद्यार्थीको हितका लागि सुझाव संकलन गर्ने योजना रहेको प्रधानाध्यापक सिग्देलले जानकारी दिनुभयो । कक्षा ४ देखि १२ कक्षासम्म ४०५ जना मतदाता रहेकोमा ३६२ जाले मतदान गरेका थिए । विद्यालयमा हाल ५४५ जना विद्यार्थी अध्ययनरत छन् । मतदान प्रक्रियाको निरीक्षण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम गौतम र सदस्य उर्मिला स्याङ्तानले गर्नु भएको थियो ।
