हेटौँडा : मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ मा अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहनसहित उत्पादित बस्तुको प्रमाणीकरण र ब्राण्डिङ गर्ने भएको छ । नगरपालिकाले शनिबार सम्पन्न १८औं नगरसभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै फलफुल, तरकारी, मासु, अण्डा, दुध, किबी लगायतको खेतीमा नगरलाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ ।
सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने, प्राङ्गारिक तथा जैविक मलको उत्पादन र उपयोगलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गर्ने नीति नगरपालिकाले लिने नगरप्रमुख विष्णु विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ जातको आलुको क्षेत्र बृद्धि गरी उत्पादन र उत्पादकत्व बढाउने, टनेल खेति विस्तार गर्ने, ५० प्रतिशत अनुदानमा कृषिचुन वितरण र प्राङ्गारिक खेतिमा जोडदिने, किसान सूचीकरण कार्यक्रमलाई निरन्तरता दिने, प्रत्येक पशु सेवा केन्द्रहरुमा १/१ थान रेफ्रिजिरेटर व्यवस्था गर्नेछ ।
ध्यान पर्यटन क्षेत्रको रुपमा थाहा नगरलाई विकास गर्न, धार्मिक साँस्कृतिक तथा पर्या पर्यटन, पर्वतीय ताल जस्ता पर्यटनका गन्तव्य लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, पर्यटन सूचना केन्द्रको स्थापना र नक्सासहितको प्रचारात्मक बोर्डहरु राख्ने, हरेक होटल, एक रैथाने परिकार कार्यक्रम, भैंसे सिमभञ्ज्याङ केवलकार सञ्चालनका लागि नीजि क्षेत्रसँग सहकार्य गर्ने, सहकारी खेती प्रवद्र्धन कार्यक्रम, निष्कृय रुपमा रहेका सहकारी संस्थाहरुलाई खारेजी र एकै प्रकृतिका सहकारी बीच एकीकरण गर्ने कार्यलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।
नगरप्रमुख विष्टका अनुुसार नगर क्षेत्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ, मन्दिर, पोखरी, चैत्य, गुम्बाको अभिलेख राख्ने तथा पहिचान खुल्ने गरी संकेत चिन्ह राखी साँस्कृतिक धार्मिक ट्रेल निर्माण गर्ने, एक वडा एक आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई सुदृढ र व्यवस्थित गर्ने, नगरभित्र १५ शैयाको प्राथमिक अस्पतालबाट मेडिकल अधिकृत एवम् विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराइनेछ साथै पोष्टमार्टम सेवाको व्यवस्था गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा सञ्चालन गर्ने, आई.सि.टि. को विधिबाट क्याम्पस लगायत केहि विद्यालयहरुमा पठनपाठनको व्यवस्था गर्ने, नगरस्तरीय खेलकुद परिषद् गठन गर्ने, कुन्छाल–कुलेखानी सडक कालोपत्रे, थाहा बसपार्क, थाहा पार्कको संरचना सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
साना र टुक्रे योजनाहरुलाई निरुत्साहित गर्न वडाले ५ लाखभन्दा बढी र नगरले १५ लाखभन्दा बढीका योजनामा बजेट विनियोजन गर्ने, थाहा शितभण्डार निर्माण सम्पन्न गर्ने, गणेशमान मार्ग स्तरोन्नतिका लागि संघीय र प्रदेश सरकारसँग पहल गर्ने, एक वडा, एक गौरवको आयोजना सञ्चालन गर्न नगरस्तरीय र वडास्तरीय गौरवका योजनाहरु पहिचान गरी सोको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार गरी कार्यान्वयन गर्ने नगरप्रमुखले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
