Home मुख्य समाचार चितवन दुर्घटना : ७ जनाको मृत्यु, सनाखत भएका २ जना हेटौँडाका

चितवन दुर्घटना : ७ जनाको मृत्यु, सनाखत भएका २ जना हेटौँडाका

फाइल तस्वीर ।

हेटौँडा : शनिबार बिहान चितवनमा यात्रुबाहक बस र यात्रुबाहक माइक्रो आपसमा ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जनाको सनाखत भएको छ भने पाँच जनाको सनाखत हुन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ ।

सनाखत भएका २ जना मृतक हेटौँडाका छन् । मृतक मध्ये सनाखत भएका २ जना हेटौँडा–४ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौँडा–५ की मैयाकुमारी न्यौपाने पहाडी छिन् । चितवन प्रहरीले रुपाखेतीको ठेगाना साविक हटिया गाविस–३ उल्लेख गरे पनि उनी हाल हेटौँडा–४ मा बस्दै आएका छन् । मृतक मध्ये एक महिला गर्भवती भएको प्रहरीले उल्लेख गरेको छ । अन्दाजी ३५ वर्षीय गर्भवती महिलासहित अन्दाजी १९ र २५ वर्षीया २ महिला, अन्दाजी २३ र ४० वर्षीय २ जना पुरुषको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।

दुर्घटनामा परी घाइते भएकाहरु भरतपुरस्थित पुरानो मेडिकल कलेज, एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घाइते मध्ये हेटौँडा–४ का ३१ वर्षीय विष्णु लम्साल, हेटौँडा–१२ का ३२ वर्षीय सिंहवीर घलान र हेटौँडा–१३ का १६ वर्षीय सक्षम थापा मध्यम घाइते रहेको प्रहरीले उल्लेख गरेको छ । हेटौँडा–८ की ३४ वर्षीया गंगा घलान गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान १० बजेर १५ मिनेटको समयमा धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नब्बरको बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रो बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

Exit mobile version