मार्खु (इन्द्रसरोवर) : बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सञ्चारको परिभाषा फेरिँदै गएकाले चुनौतीहरू पनि थपिएको बताउनुभएको छ । बागमती प्रदेश सभा सचिवालयले मकवानपुरको पर्यटकीय क्षेत्र इन्द्रसरोवर गाउँपालिकाको मार्खुमा आयोजना गरेको दुई दिने अन्तरक्रिया कार्यक्रमको बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले पत्रकारिताको बदलिँदो स्वरूप र सामाजिक सञ्जालको प्रभावबारे चेतावनी दिनुहुँदै सञ्चारकर्मीहरू अझ जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पत्रकारिता केवल समाचार लेख्ने माध्यम होइन, यो लोकतन्त्रको आत्मा हो । यसले संसददेखि सरकारका कामकाज, नागरिकका आवाज र समृद्धिका सम्भावनाबीच पुलको काम गर्छ ।’ त्यस्तै, कार्यक्रममा प्रदेश उपसभामुख अपसरा चापागाईंले सञ्चारकर्मीहरूको भूमिका संविधान निर्माणदेखि विकाससम्मको यात्रामा सहयात्रीको रहेको बताउनुभयो । ‘नेपालको भौगोलिक स्वरूपअनुसार बागमती प्रदेशको हेटौँडाले तराई, पहाड र हिमाल सबै समेटेको छ । यही कारण यो प्रदेश सबै अभ्यास र प्रयोग सिक्न सकिने थलो हो’, चापागाईंले भन्नुभयो ।
सामाजिक सञ्जाल र प्रविधिको विस्तारले सञ्चार माध्यममा ल्याएको परिवर्तनलाई सकारात्मक मान्नुहुँदै उहाँले भन्नुभयो, ‘पहिले पत्रपत्रिका हेथ्र्यौं, अहिले मोबाइलमै समाचार हेर्न सकिन्छ । यो परिवर्तन सञ्चारकर्मीहरूको निरन्तर मिहिनेतको परिणाम हो ।’ कार्यक्रमको पहिलो दिन ‘नेपाली पत्रकारिताको अभ्यास र चुनौती’ विषयमा वरिष्ठ पत्रकार युवराज घिमिरेले अन्तरक्रिया गर्नुभयो । उहाँले ऐतिहासिक सन्दर्भ, राजनीतिक उतारचढाव र वर्तमान यथार्थबीच सञ्चार माध्यमको भूमिका बारे जानकारी दिनुभयो । उहाँले सञ्चार माध्यमहरूले आफ्नो स्वतन्त्रता जोगाउँदै उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमको दोस्रो दिन बिहीबार कान्तिपुर दैनिकका सम्पादक दुर्गा खनालले ‘राजनीति र संसदीय पत्रकारिता’ विषयमा अन्तरक्रिया गर्नुहुनेछ । बागमती प्रदेश सभाले आयोजना गरेको दुई दिने अन्तरक्रिया कार्यक्रमको मूल उद्देश्य प्रदेश सरकार र सञ्चारकर्मीबीच निरन्तर संवाद, अन्तरक्रिया र सहकार्यको वातावरण निर्माण गर्नु रहेको सचिवालयले जनाएको छ । कार्यक्रममा प्रदेश सभा सचिव रामकुमार पौडेल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगर, उपाध्यक्ष हरिप्रसाद हुमागाईं, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी लगायत मकवानपुरका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
