Home मुख्य समाचार हेटौंडामा कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्दै गएको आइसोलेसन वार्डका अधिकारीको टिप्पणी

हेटौंडामा कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्दै गएको आइसोलेसन वार्डका अधिकारीको टिप्पणी

हेटौंडाः बिहीबार बिहान प्राप्त रिपोर्टअनुसार हेटौंडाका दुईजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार नै पठाइएको नमूनामध्ये बिहीबार प्राप्त रिपोर्टअनुसार हेटौंडा–६ का ४९ वर्षीय पुरुष र हेटौंडा–१७ का ३१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका ईञ्चार्ज डा. अर्जुन खड्काले जानकारी दिनुभएको छ । बिहीबार संक्रमित भएका दुबैजना हेटौंडा अस्पतालको ज्वरो क्लिनिकबाट रेफर गरेर पठाइएका व्यक्तिहरु भएको डा. खड्काले बताउनुभएको छ ।

आइसोलेसन वार्डमा अहिले कोरोना सङ्क्रमित ११ जना उपचाररत छन् । बिहीबार आइसोलेसन वार्डबाट ३४ पुरुष र १७ महिलासहित ५१ जनाको स्वाब कोरोना परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालित प्रयोगशालामा पठाइएको थियो । परीक्षणका लागि पठाइएका ५१ वटा नमूनामध्ये २१ जनामा संक्रमण नभएको पाइएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ । उहाँका अनुसार ३१ वटा नमूना भने संक्रमण नभएको भनी भन्न सक्ने अवस्थाको छैन । जसका कारण पुनः परीक्षणको कार्य भइरहेको र खतराको संकेत देखिएको उल्लेख गरिएको छ । जनस्वास्थ्य निरीक्षक चौलागाईको विश्लेषणले ठूलो संख्यामा संक्रमित पाइएको हुन सक्छ । बिहीबार स्पष्ट नतीजा दिन नसकिएका ३१ वटा नमूनाको आज शुक्रबार वास्तविक नतीजा प्राप्त हुने विश्वास गरिएको छ ।

केहीदिन यता जिल्लाभित्रै रहेका, जिल्लाबाहिर नगएकाहरुमा संक्रमण पुष्टि भएको छ । यसले हेटौंडा उपमहानगरपालिका र आसपासका क्षेत्रमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण रहेको पुष्टि हुन्छ । बिहीबार आइसोलेसनमा रहेका १० जना मध्ये ८ जनामा कोरोना भाइरसको लक्षण देखिएको र २ जनाको अवस्थामा भने धेरै समस्या देखिएको आइसोलेसन वार्डले उल्लेख गरेको छ । कोरोना संक्रमित देखिएसँगै ती क्षेत्र सिल गर्ने गरिए पनि मुख्यतः बजार क्षेत्रमा भइरहेको भीड, सीमानामा हुनुपर्ने नियन्त्रण हुन सकेको छैन । बिहीबार मनहरी गाउँपालिकाका एकजना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

Exit mobile version